अन्तर्वार्ता

नागरिक उन्मुक्तिलाई सरकारबाट अलग्याउने चलखेल भयोः गंगाराम चौधरी

सर्वोच्च अदालतले रेशम चौधरीको जन्मकैदको फैसला सदर गरेपछि सरकारबाट बाहिरिनेदेखि देशभर आगो बाल्नेसम्मको चेतावनी दिएको नागरिक उन्मुक्ति पार्टी एकाएक मत्थर बनेको छ। उक्त पार्टीले शनिबारदेखि गर्ने भनेको नेपाल बन्दको कार्यक्रम पनि फिर्ता लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फौजदारी विधेयकमार्फत राजबन्दीको रिहा गर्ने बताएपछि आन्दोलन फिर्ता लिएको पार्टीका सचिव गंगाराम चौधरीले बताए।

प्रधानमन्त्रीले सदनमार्फत नै दिएको आश्वासनको सम्मान गर्दै तत्काल सरकारबाट नबाहिरिने उनको भनाइ छ। यसै सन्दर्भमा नागरिक उन्मुक्ति पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीसँग देशसञ्चारका लागि ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंशः

नागरिक उन्मुक्ति पार्टी आफ्नो पूर्वनिर्धारित आन्दोलनबाट एकाएक पछि हट्नुको कारण के हो?

सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान छ। तर, रेशम चौधरीलगायत टीकापुर घटनाका राजबन्दी साथीहरुलाई सर्वोच्चको न्यायपूर्ण फैसला भएन।

त्यही हिसाबले हामीले आन्दोलनको घोषणा गरेका थियौँ। ३, ४, ५ गते राँके जुलुस र ६ देखि १० गतेसम्म नेपाल बन्दको आह्वान गरेका थियौँ।

सदनमा प्रधानमन्त्रीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ र रेशम चौधरीलगायत राजबन्दीको रिहाइ गर्ने भनेपछि नेपाल बन्दको कार्यक्रम फिर्ता लिएका हौँ। माग पूरा नभए फेरि आन्दोलनको घोषणा गर्छौँ।

सर्वोच्चले समेत रेशम चौधरीको जन्मकैदको फैसला सदर गरिसकेको अवस्थामा प्रधानमन्त्रीको आश्वासनमा विश्वास छ?

प्रधानमन्त्रीजस्तो सम्मानित पदमा बसेको व्यक्तिले गलत आश्वासन दिनुहुन्न भन्ने हामीलाई लाग्छ।

केही समय लाग्ला तर हामी अझै प्रतिक्षामा छौँ। विश्वास गर्ने आधार पनि छ। कानुनी प्रक्रिया हो केही समय लाग्ला।

सर्वोच्चले आदेश दिइसक्दासमेत लाल आयोग प्रतिवेदन सार्वजनिक हुन सकेको छैन। त्यो हुनुपर्छ। अन्य दलका नेता पनि मुछिएका छन्। त्यसैले सार्वजनिक गर्न डराएका छन्। मुख्य रहस्य त्यही हो।

सर्वोच्चको फैसलापछि सरकारबाट बाहिरिन आन्तरिक छलफलमा हुनुहुन्थ्यो, सरकारमै रहने वा बाहिरिने निर्णय लिन किन ढिला गर्नुभयो?

अरु पार्टीका साथीले कसरी नागरिक उन्मुक्ति पार्टीलाई सरकार बाहिर निकाल्ने भन्ने चलखेल गरेका छन्।

हामी सदन, सडक र सरकार तीन ठाउँबाट आवाज उठाउँछौँ। सरकारले आश्वास पूरा नगरे सरकार छाड्छौँ। बहुमतको सरकार छैन, जुनसुकै बेला पनि सरकार ढल्न सक्छ।

प्रतिपक्षी दल सरकार ढाल्ने तयारीमा छन्।

प्रचण्डको आश्वासनलाई कहिलेसम्म विश्वास गर्नुहुन्छ?

प्रचण्डले छिट्टै माग पूरा गरिदिन्छु भन्नुभएको छ। यति दिन भनेर त तोक्नुभएको छैन।

विश्वास छ, उहाँले छिट्टै हाम्रो माग पूरा गरिदिनुहुन्छ। सर्वोच्चले समेत फैसला गरिसकेको अवस्थामा सजिलो छैन। समय लाग्छ तर हामी प्रतिक्षामा छौँ।

माग पूरा नभए के गर्नुहुन्छ?

माग पूरा नभए तुरुन्तै सरकारबाट बारिरिन्छौँ।

सर्वोच्चको फैसलापछि देशभर आगो बाल्छौँ भन्नुभएको थियो, तर आन्दोलनका कार्यक्रम एकाएक रोकिए, सरकारबाट बाहिरिने मुद्दा पनि सामसुम भयो नि?

आगो बाल्छौँ भनको देशमा आगो जलाउने होइन, हामीले राँके जुलुस निकालेको हो तर मिडियाले बढाइचढाइ गरेर लेखे।

राम्रो आश्वासनभन्दा प्रधानमन्त्रीजस्तो सम्मानित पदमा बसेको व्यक्तिले गलत आश्वासन दिनुहुन्न भन्ने हामीलाई लाग्छ। केही समय लाग्ला तर हामी अझै प्रतिक्षामा छौँ।

जेठ ६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्