सनातन यात्रा

अक्षरको विभाजन र गुरुत्व तथा लघुत्व

विषय प्रवेश

वेदका ऋचाहरू विभिन्न छन्दमा बाँधिएका छन् । छन्दहरूको विविध पक्षको ज्ञानका निम्ति पिङ्गल मुनिको छन्दस्सूत्र प्रामाणिक तथा प्राचीन स्वतन्त्र ग्रन्थ हो । यसै ग्रन्थका आधारमा छन्दशास्त्रका अन्य ग्रन्थ पनि पछिपछि रचिए। हाम्रा परम्परामा छन्दमा कविता रच्न चाहनेहरूले छन्दको ज्ञान गर्ने प्रारम्भिक ग्रन्थचाहिँ कविकालिदासको “श्रुतबोध” हो । मोतीराम भट्टले पनि कवि भानुभक्ताचार्यको जीवनचरित्रका अन्त्यमा कविहरूलाई पिङ्गलच्छन्दस्सूत्र पढ्न नसके पनि श्रुतबोधको अभ्यास गर्न सुझाव दिएका छन्  (१९४८, पृ. ५१) । श्रुतबोधका प्रारम्भमा नै संयुक्त व्यञ्जनभन्दा अगिल्लो अक्षर गुरु हुने कुरा यसरी बताइएको छ—

संयुक्ताद्यं दीर्घं सानुस्वारं विसर्गसम्मिश्रम् ।

विज्ञेयमक्षरं गुरु पादान्तस्थं विकल्पेन ।।

यसको सामान्य अनुवाद हाम्रा पिताजी शिवराज आचार्यले रच्नुभएको छन्दोग्रन्थ वृत्तनक्षत्रमालामा (२०२८, पृ.१) यसरी गरिएको छ—

संयुक्तदेखि अगिका अनुस्वार–विसर्गले ।

युक्त अक्षर हुन् दीर्घ पादान्तस्थ विकल्पले ।।

यो कुरा छन्दमा मात्र होइन भाषामा गद्यमा पनि सामान्यतया लागू हुन्छ भन्ने कुरा पाणिनिका “ह्रस्वं लघु, संयोगे गुरु” भन्ने सूत्रहरूबाट अष्टाध्यायी (१।४।१०—११) बुझिन्छ ।

यसबाट संयोगभन्दा ठिक अगाडिको अक्षर सामान्यतया: गुरु मानिने कुरा स्पष्ट हुन्छ । अब त्यो गुरु किन मानियो, त्यसका अपवाद पनि केही छन् कि भन्ने कुराको विचार पनि जिज्ञासुहरूको जिज्ञासा शान्तिका लागि सङ्क्षेपमा तल प्रस्तुत गरिन्छ ।

अक्षर विभाजनको सिद्धान्त

यस विषयमा विचार गर्दा भाषाको बोलाइका विशेषताहरूमा पनि विचार पुर्‍याउनुपर्छ । त्यसमा पनि अक्षर विभाजनको सिद्धान्त (थिअरि अव् सिल्याबिफिकेशन्) का विषयमा विशेष विचार पुर्‍याउनुपर्छ । हाम्रा वैदिकभाषा–व्याकरण–चिन्तनका परम्परामा अक्षर विभाजनको सिद्धान्तका विषयमा ऐतरेय आरण्यकदेखि नै विचार गरिएको पाइन्छ (३।१।५) । ऋग्वेद–प्रातिशाख्य, शुक्लयजुर्वेद–प्रातिशाख्य इत्यादि ग्रन्थमा त यस विषयमा कतैकतै मतभेद समेत देखाएर विस्तृत रूपमा विचार गरिएको छ । तथापि लौकिक संस्कृतका ज्ञाताहरूको र विवेचनात्मक प्रवृत्ति नभएका वैदिकहरूको समेत यस विषयमा समुचित रूपमा ध्यान जान सकेको देखिँदैन । त्यसैले उनीहरू पनि अलमलमा परिरहेको देखिन्छ ।

पाश्चात्यले संस्कृत–शिक्षाशास्त्र (फनेटिक्स्) को अध्ययन गरेपछि मात्र आधुनिक ध्वनिविज्ञानको विकास गरेका हुन्। यो कुरा डब्ल्यू.एस्.यालन्‌ले “फनेटिक्स् इन् एन्शण्ट् इण्डिया” (१९५३) भन्ने पुस्तकको “दि इण्डियन् इन्फ्लुअन्स् अन् वेष्टर्न् फनेटिक्स्” भन्ने प्रकरणमा लेखेका छन् । अक्षरको विभाजनका कुरा पनि उनीहरूले संस्कृतबाटै सिकेर अङ्ग्रेजीमा समावेश गरेका हुन् ।

वेद मन्त्रहरूको उच्चारणमा अक्षर विभाजनको ठूलो महत्त्व छ। अक्षर विभाजनको विषयमा राम्रो ज्ञान नभए वेदमन्त्रका स्वरको ठिकठिक प्रयोग गर्न सकिँदैन । तथापि वेदाचार्य गरेका आधुनिक व्यक्तिहरूको पनि यस विषयमा ध्यान गएको पाइँदैन । शुद्ध–अशुद्ध तथा ठिक–बेठिकको छ्यान पहिचान गर्ने मानिस कम र राजनीतिक वा आर्थिक स्वार्थमा मात्र ध्यान दिने मानिस बढी हुँदै गएका वर्तमान परिस्थितिमा यस्ता विषयमा साँच्चैका विद्याप्रेमीले ध्यान दिए पनि तीदेखि बाहेक अरूले ध्यानै पो किन दिन पर्‍यो र ? भन्ने ठानेको हो कि जस्तो पनि देखिन्छ ।

नेपालीहरूका बिचमा अक्षरविभाजन–सिद्धान्तको विशेष चिन्तन गरी त्यसलाई प्रयोगमा ल्याएर नेपाली निबन्धको सर्वप्रथम मुद्रण हाम्रा पिताजी शिवराज आचार्यले “जिम्दो नेपालि भासा” मा गर्नुभएको हो (पैलो खण्ड, २०३०, पृ.१–१२)। अक्षर विभाजनको सिद्धान्तको नेपालीमा सर्वप्रथम प्रतिपादन पनि उहाँकै “नेपाली वर्णोच्चारणशिक्षा”मा गरिएको छ (साझा प्रकाशन, २०३१, पृ. ११५–११६) ।

यसभन्दा पहिला सोमनाथ सिग्द्यालले व्यञ्जनको द्वित्व भएको र पहिलो व्यञ्जन पहिलो स्वरको अङ्ग भएको संयोगलाई घनसंयोग र द्वित्व नै नभएकालाई शिथिल संयोग भनी नमिल्दो कुरा गरेका थिए (मध्यचन्द्रिका) । यो कुरा यहीँ अल्लि पछाडि स्पष्ट पारिएको छ । पुष्करसम्सेर ज.ब.रा.ले चाहिँ उच्चारणका र व्यञ्जन द्वित्वका केही कुरासम्म उठाए तापनि त्यसको विशेष विवेचना र अक्षरविभाजनका सिद्धान्तको प्रतिपादन भने गरेको देखिँदैन (साठी वर्षका भाषिक चर्चा, ने.प्र.प्र., २०७४, पृ. २१–२५) । उनले पाणिनिको “अनचि च” अष्टाध्यायी ८।४।४७) सूत्रअनुसार वेदमा मात्र व्यञ्जनको द्वित्व हुने लौकिक संस्कृतमा द्वित्व नहुने ठानेको पनि बुझिन्छ । तर वास्तविकता त्यस्तो होइन ।

“जिम्दो नेपालि भासा” र “नेपाली वर्णोच्चारणशिक्षा”मा प्रतिपादित अक्षर विभाजनको उक्त अपूर्व कुरालाई साधारण नेपाली पाठकले बुझ्न नसके पनि अथवा त्यसलाई बुझ्न अनावश्यकजस्तो माने पनि भाषाशास्त्रीहरूले त बुझ्नै पर्ने हो र बुझ्न आवश्यक मान्नै पर्ने पनि हो, अनि त्यसको नेपाली भाषाको उच्चतहको पठन–पाठनमा संलग्न व्यक्तिहरूले त चर्चा–परिचर्चा गर्नै पर्ने हो र त्यसबाट शिक्षार्थीहरू र नेपाली भाषाका प्रयोक्ता साधारण पाठक तथा कवि–लेखकहरू पनि लाभान्वित हुन पाउन पर्ने नै हो। तर हिजोआज विद्याकोभन्दा व्यक्तिको र कार्यको भन्दा कर्ताको नै चासो राखिने स्थिति भएकाले त्यसो हुन नसकिराखेको देखिन्छ । २०५० सालतिर आएर उच्च माध्यमिक कक्षाका पाठ्यक्रममा अक्षरविभाजनको सिद्धान्तलाई समावेश गरे तापनि भाषाविज्ञानका क्षेत्रमा कलम चलाउनेहरूले नेपाली वर्णोच्चारणशिक्षाको भने कतै चर्चा र उल्लेखै नगर्ने गरेको पाइएको छ । विद्याका क्षेत्रमा काम गर्नेहरूले आफूभन्दा अघिकाले गरेका कामको निष्पक्ष भएर मूल्याङ्कन गर्न आवश्यक हुन्छ ।

बोलाइअनुसारको लेखाइ आवश्यक

यस विषयमा उद्बुद्ध कवि–लेखक पनि अलमलमा पर्नुमा आजभोलिको लिपिप्रयोगको शैलीको पनि ठूलो भूमिका रहेको देखिन्छ । वैदिक मुनि यास्क, पाणिनि, कात्यायन, पतञ्जनि, वररुचि इत्यादिले हजारौँ वर्षका भाषा–व्याकरण–चिन्तनले स्थापित र परिष्कृत गरेका भाषा–व्याकरण–दर्शनलाई भुलेर वा छोडेर पश्चिमाहरूका देखासिकीमा लागेर मराठी, बङ्गाली, गुजराती, हिन्दी, नेपाली इत्यादि भाषाहरूका कथित व्याकरण बनाइएकाले र बलपूर्वक लेखननियम बसालिएकाले पनि साधारण भाषा प्रयोक्ताहरू अलमलमा पर्न गएको देखिन्छ । कथित मान्य नेपाली व्याकरणअनुसार लेखिन्छ एकथोक, बोलिन्छ आर्कैथोक । एकै प्रकारले लेखिन्छ, अनेक प्रकारले बोलिन्छ । अनेक प्रकारले लेखिन्छ, एकै प्रकारले बोलिन्छ । अनि अलमलमा कसरी नपर्नु ? बोल्दा “समाल” बोल्ने, लेख्दा “सह्माल” लेख्ने गर्दा नयराज पन्त जत्तिका लेखक पनि “बोल्छन् डाक्छन् हितकर भई राज्य झट्टै सम्हाल” (पूर्णिमा अङ्क ३३, पृ. ५) इत्यादिमा लेखाइमा वृत्तभङ्ग हुन गएको चालै नपाउने अवस्थामा पुगेका देखिन्छन् । यस्तो कसरी हुन गएको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । उनले यसप्रकारका प्रयोग पूर्णिमामा अन्यत्र पनि अनेक स्थलमा गरेको देखिन्छ (अङ्क ४०, पद्मशमसेरका कुरा, पद्म १४, ५२, ११६, १२०, १३६, २०६) । अरू साधारण लेखक–कविहरू अलमलिने कुरा त केही नौलो भएन, धेरै अलमलिएका छन् । नेपाली विषयका परिपक्वै ठानिएका प्रा.डा. हरूसमेत पद्यमा वृत्तभङ्ग  (छन्दोभङ्ग) भएको पत्तै नपाउने स्थितिमा पुगेका देखिन्छन् । यस स्थितिमा सुधार गर्न अक्षरविभाजनको सिद्धान्तलाई नेपाली विषयको स्नातकोत्तर तहसम्म नै नेपाली वर्णोच्चारणशिक्षाका र शुक्लयजुर्वेद–प्रातिशाख्यका केही विशिष्ट अंशहरू पनि पाठ्यक्रममा समावेश गरी गम्भीर रूपमा अध्यापन गर्नुपर्ने अनुभव भएको छ ।

वेद मन्त्रहरूको उच्चारणमा अक्षर विभाजनको ठूलो महत्त्व छ। अक्षर विभाजनको विषयमा राम्रो ज्ञान नभए वेदमन्त्रका स्वरको ठिकठिक प्रयोग गर्न सकिँदैन । तथापि वेदाचार्य गरेका आधुनिक व्यक्तिहरूको पनि यस विषयमा ध्यान गएको पाइँदैन । शुद्ध–अशुद्ध तथा ठिक–बेठिकको छ्यान पहिचान गर्ने मानिस कम र राजनीतिक वा आर्थिक स्वार्थमा मात्र ध्यान दिने मानिस बढी हुँदै गएका वर्तमान परिस्थितिमा यस्ता विषयमा साँच्चैका विद्याप्रेमीले ध्यान दिए पनि तीदेखि बाहेक अरूले ध्यानै पो किन दिन पर्‍यो र ? भन्ने ठानेको हो कि जस्तो पनि देखिन्छ ।

संस्कृतमा व्यञ्जन द्वित्वसहितको लेखाइ

संस्कृतको उच्चारण र लेखनमा भने पहिले समानता रहिआएको देखिन्छ। यो कुरा भारतका कतिपय अतिप्राचीन शिलालेखहरूमा पाइने व्यञ्जनको द्वित्वसहितको लेखनबाट र जिह्वामूलीय–उपध्मानीय विसर्गको पृथक् लेखन समेतबाट सूचित हुन्छ । उदाहरणका निम्ति रुद्रदामाको ७२ शकाब्दको गिरनार शिलालेख, राजा सोमको २८२ वैक्रमाब्दको नाँदसा शिलालेख, समुद्रगुप्तको प्रयागशिलालेख, वत्सभट्टिको मन्दसौरशिलालेख, रविकीर्तिको ऐहोलेशिलालेख इत्यादि शिलालेखका लेखाइलाई लिन सकिन्छ । त्यो समानता पछिका लौकिक संस्कृत काव्यादिका लेखनमा विशेष अलमलिएको पाइए पनि वेदका लेखनमा यथावत् स्थापित गर्दै आइएको छ । यसको उदाहरण कतिपय भ्रमप्रमादपूर्ण विचलनलाई छाडेर शुक्लयजुर्वेदको माध्यन्दिनीय संहितामा अहिले पनि देख्न सकिन्छ । त्यसैले व्यञ्जनको स्वाभाविक र व्याकरणसम्मत द्वित्व देखाएर संस्कृत भाषा लेख्नु वा छाप्नु स्वाद्ध्यायाशालाको आफ्नो निजी शैली हो भनी ठान्ने कतिपय व्यक्तिले भ्रमात्मक धारणा लिएको तथ्य पनि स्पष्ट हुन्छ ।

मध्यचन्द्रिकामा त्रुटिपूर्ण विवेचना

उपर्युक्त वस्तुस्थितिमा र परम्परामा ध्यान नदिई तथा भाषाको अक्षरविभाजनका सिद्धान्तमा र व्यञ्जनका द्वित्वप्रवृत्तिमा दृष्टि नपुप्याई ठूला वैयाकरण मानिएका सोमनाथ सिग्द्यालले मध्यचन्द्रिकामा यस्तो कुरा लेखेका छन्—

“टिप्पणी. १. हाम्रो भाषामा व्यंजनको संयोग दुई किसिमको हुन्छ । कोही शिथिल अर्थात् खुकुलो हुन्छ, यस्तो संयोग भएमा अगिल्लो स्वरमा जोर नपर्ने गरी हलुका उच्चारण हुने हुन्छ, कोही घन अर्थात् मजबूत हुन्छ, यस्तो संयोग भएमा अघिल्लो स्वरमा जोर पर्ने गरी साह्रो उच्चारण हुने हुन्छ । जस्तै शिथिल संयोग— ‘भन्यो, गह्रौं, साह्रो, गर्‍यो, देख्यो, पट्याक’ इ.। घनसंयोग— ‘भन्ने, गर्ने, सुन्दछ, बल्ल, यस्तो, पिच्च’ इ. (पन्ध्रौँ संस्करण, २०३७, पृ. १३) ।

मध्यचन्द्रिकाकारको उक्त व्याख्याले भाषाका स्वभावको यथार्थ व्याख्या गर्न सकेको छैन । व्यञ्जनको द्वित्वको प्रतिपादन गर्ने पाणिनिको “अनचि च” अष्टाध्यायी (८।४।४७) भन्ने सूत्र पनि पढेका र संस्कृत व्याकरणमा “प्रतिसंस्कृता सिद्धान्तकौमुदी” (ने.रा.प्र.प्र., २०१५) नै लेखेका सिग्द्याल किन यसरी नराम्ररी झुक्किन पुगे आश्चर्यलाग्दो विषय पनि छ । यसरी मुहान नै धमिलो भएपछि अन्यत्र स्वच्छता पाउन गारै पर्ने भयो । माथि दिइएका शिथिल संयोगका उदाहरणहरूमा संयुक्त व्यञ्जनमध्ये दुवै नै परवर्ती स्वरका अङ्ग हुन्छन्, अर्थात् दुवै व्यञ्जनले परवर्ती स्वरसित मिलेर अक्षर (सिलब्ल्) बनाउँछन् । माथि दिइएका घनसंयोगका उदाहरणहरूमा संयुक्त व्यञ्जनमध्ये पहिलो व्यञ्जन अगिल्लो स्वरको अङ्ग हुन्छ, दोस्रो व्यञ्जन पछिल्लो स्वरको अङ्ग हुन्छ, अर्थात् पहिलो व्यञ्जनले अगिल्लो स्वरसित मिलेर अक्षर  सिलब्ल्) बनाउँछ, दोस्रो व्यञ्जनले पछिल्लो स्वरसित मिलेर अक्षर बनाउँछ । यस स्थितिमा संयुक्त व्यञ्जनमध्ये अगिल्लो व्यञ्जनले स्वपूर्ववर्ती (आफूभन्दा अगिल्लो) स्वरसित मिलेर अक्षर बनाउँछ भने स्वपूर्ववर्ती अक्षरलाई गुरु बनाउँछ, अगिल्लो व्यञ्जनले पनि स्वपूर्ववर्ती स्वरसितै मिलेर अक्षर बनाउँछ भने त्यसले स्वपूर्ववर्ती स्वरलाई गुरु बनाउँदैन भन्ने कुरा बुझ्नुपर्छ। मध्यचन्द्रिकाकारले यस्तो स्पष्टीकरण दिन नसकेकाले उनका अनुयायी अलमलमा परेका हुन् कि भन्न पनि सकिन्छ ।

अक्षर विभाजन गर्दा पूर्व स्वरको अङ्ग हुने व्यञ्जनलाई खुट्टा काटेर लेख्ने र परवर्ती स्वरको अङ्ग हुने व्यञ्जनलाई खुट्टा नकाटीकन लेख्ने शैली “जिम्दो नेपालि भासा”मा अँगालिएको छ । जस्तै— भन्–छ, भ–न्यो, कन्–न्या, क–न्या, तत्–त्व, कर्–तब्–ब्य इत्यादि । यसबाट अक्षर विभाजन गर्दा कुन पूर्वाङ्ग व्यञ्जन हो र कुन पराङ्ग व्यञ्जन हो भन्ने स्पष्ट हुन्छ । “जिम्दो नेपालि भासा”मा (२०३०) देखाइएको यस लेखन पद्धतिलाई शब्दको उच्चारण देखाउँदा “रेडियो शैली पुस्तक”मा पूर्णतया अनुसरण गरिएको छ (मोहनराज शर्मा र अन्य, २०५५) भने “प्रयोगात्मक नेपाली शब्दकोश”माचाहिँ व्यञ्जन द्वित्वलाई अँगालिए पनि अक्षर विभाजन पनि स्पष्ट रूपमा देखिने गरेर मुद्रण गरिएको छैन (हेमाङ्गराज अधिकारी र बद्रीविशाल भट्टराई, २०६१)।

अक्षर गुरु र लघु हुने नियम

यस विषयमा वैयाकरणहरू र भाषाशास्त्रीहरू तथा कवि–लेखकहरूसमेत अलमलमा परेका भए पनि प्राचीन वैयाकरणहरू र वैदिकहरूचाहिँ अलमलमा परेका छैनन् । जस्तै तैत्तिरीय–प्रातिशाख्यका व्याख्याता गार्ग्य गोपाल यज्वाले लेखेका छन्—

गुर्वक्षरे द्विमात्रत्वं सर्वशास्त्रेषु सुस्फुटम् ।

ह्रस्वे गुरौ तत्सम्पत्तिः परव्यञ्जनकालतः ।। —२२।१५

अर्थात्— गुरु अक्षरमा द्विमात्रत्व (दीर्घत्व) हुन्छ भन्ने कुरा सबै शास्त्रहरूमा स्पष्टै छ, ह्रस्व अक्षर गुरु हुन जाँदा गुरुत्वको सम्पादन पछिल्लो व्यञ्जनको काल पनि ह्रस्व अक्षरमा जोडिनाले हुने हो ।

यति कुराबाट संयुक्ताक्षरको अगाडिको अक्षरले पछाडिको व्यञ्जनलाई तानेर आफूमा मिलाएमा त्यो ह्रस्व भए पनि गुरु हुन जाने र त्यसो नगरेमा गुरु नहुने लघु हुने भन्ने कुरा स्पष्ट हुन्छ ।

यसबाट “विकृति”को उच्चारण वास्तविक रूपमा नेपालीहरूका जिउराले “बिक्रिति”का रूपमा गर्ने हुनाले तथा “ऋ”को र “रि”को लिपिमा भेद देखाउन सके पनि उच्चारणमा भेद देखाउन धेरैजसो कवि–लेखक तथा भाषाशास्त्रीहरूले समेत नसक्ने हुँदा उनीहरू आफैँ अलमलमा परेर अरूलाई समेत अलमलमा पार्न पुगेका हुन् भन्ने कुरा पनि स्पष्ट हुन्छ । बिक्रितिको उच्चारणमा उच्चारणको शैली विशेषले गर्दा ककारको द्वित्व हुने वा नहुने र बि—अक्षरका इकारले ककार तानिने वा नतानिने दुवै स्थिति हुन सक्ने तथा बि गुरु हुन वा नहुन सक्ने देखिन्छ । भानुभक्तले पनि आफ्नो कुण्डलीको वर्णन गर्दा“स्वगृहि”लाई “स्वग्ग्रिहि” उच्चारण गरेर प्रयोग गरेको पाइन्छ । वधूशिक्षामा पनि “अमृत्”लाई“अम्म्रित्”  (श्लोक १६), “पितृ”लाई “पित्त्रि” (श्लोक ३३) उच्चारण गरेर प्रयोग गरेको देखिन्छ । नेपाली भाषामा भन्यो, बस्यो, दुख्यो इत्यादिमा भ–ब–दु–हरुले न–स–ख–हरूलाई नतान्ने हुँदा भ–ब–दु–हरू सधैँ लघु नै हुन्छन्, गुरु हुँदैनन् । कुमारीलाई बुझाउने शब्द लेख्दा “कन्या” लेखिए पनि त्यसको हाम्रो वास्तविक उच्चरित रूप “कन्न्या”  (कन्–न्या) हो, यसमा नकारको द्वित्व छ । यो रूप वैदिक–लौकिक संस्कृतमा पनि पाणिनिका “अनचि च” अष्टाध्यायी (८।४।४७) सूत्रका प्रामाण्यले शुद्ध पनि हो। यहाँ अगिल्लो नकारलाई कका अकारले सधैँ आफूसित तान्ने हुनाले कको अकार सधैँ गुरु नै हुन्छ, लघु रहन सक्तैन । नेपाली पद “कन्याउनु” मा चाहिँ नकारलाई कले नतान्ने, त्यो पछिल्लो स्वरसित मिलाएर उच्चरित गरिने हुनाले यहाँ क सधैँ लघु नै रहन्छ, गुरु हुँदैन । अर्थात् संयुक्त व्यञ्जनमध्ये पैलो व्यञ्जनले अगिल्लो स्वरसित मिलेर अक्षर  (सिलब्ल्) बनाउने स्थलमा संयुक्त व्यञ्जनदेखि पूर्वको स्वर ह्रस्व भए पनि गुरु हुन्छ, त्यस्तो नभएमा गुरु हुँदैन भन्ने नियम सबै ठाउँमा लागू हुन्छ ।

“प्र” र “ह्र” पर हुँदा चाहिँ प् र ह् अगाडि तानिने वा नतानिने दुवैथरी उच्चारण हुन सक्ने भनी त्यस्तामा अगिल्लो अक्षर गुरु हुन पनि सक्ने र नहुन पनि सक्ने मानिएको देखिन्छ । यो कुरा पनि नेपाली कवि–लेखकहरूमा प्रसिद्ध नभएको बुझिन्छ । यसको पनि प्रचार आवश्यक देखिन्छ । संस्कृतमा “प्रह्रे वा” भन्ने उक्ति प्रसिद्ध नै छ ।

उपसंहार

उक्त विषयहरूको थप विवेचना संस्कृतमा स्वाद्ध्यायशालाबाट प्रकाशित कौण्डिन्न्यायनशिक्षाका  (२०४९) अक्षरलक्षणाऽक्षरविभजनाधिकारमा (पृ. २९४–३०३) र नेपालीमा नेपाली वर्णोच्चारणशिक्षामा मुद्रित “नेपालीमा अभिनिहित वर्णहरू” भन्ने आठौँ परिशिष्टमा (पृ.३२३–३३४) उपलब्ध छ । हालै प्रकाशित मेरो “वेदवेदाङ्गोपाङ्गविमर्शः”भन्ने ग्रन्थको “प्रातिशाख्येषु अक्षरविभजनसिद्धान्तः” भन्ने शीर्षकको निबन्धमा (२०७९, पृ. ३६४–३६८) पनि व्यञ्जनको द्वित्वको विषय र अक्षरको विभाजनको विषय प्रतिपादित छ । त्यसैले यस विषयमा गम्भीर रूपले जिज्ञासा हुनेले उक्त ग्रन्थहरूको अध्ययन गरेर पनि वस्तुस्थितिको आकलन गर्न सकिन्छ ।

जेठ ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्