साहित्य संवाद

खस्किँदै गएको साहित्यिक किताबको बजारमा आशा जगाएका सुविन भट्टराई (भिडियो)

लेखक सुविन भट्टराई युवा पुस्तामा लोकप्रिय छन्। युवा पुस्ताको प्रेम र जीवनशैलीलाई टपक्क टिपेर आख्यानमा बुन्न माहिर छन्। ‘कथाकी पात्र’, ‘समर लभ’, ‘साया’, ‘प्रिय सुफी’, ‘मनसुन’जस्ता किताबले पाठकको मन जितेका भट्टराईको छैंटौ पुस्तक ‘इजोरिया’ (उपन्यास) यतिखेर ६५ हजारप्रति बिक्री भइसकेको छ।

छोटो समयमा साहित्यिक किताब इजोरिया ६५ हजार बजार बिक्री हुनु आफैमा रेकर्ड हो भन्छन् लेखक भट्टराई। उनी भन्छन्, ‘छोटो समयमा ६०–६५ हजार प्रति किताब बिक्री हुनु भनेको आफैमा रेकर्ड हो भन्ने लाग्छ।’

आर्थिक मन्दी, सामाजिक सञ्जाल र टिकटकले पठन संस्कृतिलाई प्रभाव पारिरहेको बेला ‘इजोरिया’ अत्यधिक बिक्री हुन पुगेको छ। लामो समय लकडाउनसँग जुधेर बाहिरिएको नेपाली समाजमा साहित्यिक किताबको बजार खस्किएको अवस्था हो। प्रकाशकहरु किताब नै बिक्री हुन छोडेको गुनासो गरिरहेको छन्। चल्तीका लेखकहरु किताब बिक्री नै हुँदैन के लेख्ने भनेर निराश छन्। यस्तो परिस्थितिमा ‘इजोरिया’ले लेखक र पाठकलाई आशा जगाइदिएको बताउँछन् लेखक भट्टराई।

‘अघिल्ला किताब बिक्री भएका हिसाबले यो किताब पनि धेरै नै संख्यामा जाला भन्ने चाहिँ थियो। मलाई पर्खिने पाठक हुनुहुन्छ र किताब पनि जाला भन्ने आशा थियो। तर माहोल थियो– कोभिडकाल भर्खर सकिएको, आर्थिक मन्दीको अवस्था, रुस र युक्रेनको युद्ध, पेपरको भाउ बढेको, साहित्यिक किताब प्रकाशन तथा बितरकहरूले अर्को बाटो रोज्नुपरेको स्थिति थियो। यति ठाउँमा किताब जान्थ्यो अब जाँदैन भन्ने अनुमानित आँकडा थियो। यस्तो निराशाजनक अवस्थामा पनि २० हजार किताब छापियो, जुन एक हप्तामै सकियो’, लेखक भट्टराईले भने।

बिक्रीको हिसाबले साया अगाडि भए पनि, मूल्यको हिसाबले इजोरिया अगाडि छ तर लेखक भट्टराईलाई समर लभ ‘रिच’ लाग्छ। ८० हजार समर लभ बिकेको बताउँछन् उनी। तर छोटो समयमा र आम्दानीको हिसाबले इजोरिया अग्रपंक्तिमा छ।

युट्युब, सामाजिक सञ्जाल, टिकटक, र युवापुस्ताहरूले प्लस टु गरेर वैदेशिक रोजगारीका लागि पलायन हुनुपर्ने बाध्यताका कारण नेपालमा साहित्यिक किताबको पाठक घटेको हो भनिन्छ। यस्तो अवस्थामा किताब व्यवसाय नै धरासयी बन्न पुग्न थालेको नर्कान सकिदैनथ्यो। केही प्रकाशकले त साहित्यिक किताब बेच्न सकिन्न भनेर व्यापार नै बदलेका थिए। यस्तो अवस्थामा इजोरिया एक हप्तामै २० हजार प्रति बेचियो। त्यो पनि नगद। प्रकाशक फाइन प्रिन्टकाअनुसार ८० हजार प्रति इजोरिया प्रकाशन भएर आएको र अहिले ६५ हजारको रनिङमा बिक्री भइरहेको छ।

यत्तिको किताब बिक्री हुने वातावरण तुरुन्तै बनाएका भने होइनन् उनले। लामो समयदेखि लेखनलाई निरन्तरता दिन सकेरै भएको बताउँछन् भट्टराई। अझ भनौँ उनले पाठकलाई बिर्सिन दिएनन्। उनी टाढिएनन् पाठकबाट। वर्ष–दुई वर्षमा उनले किताब ल्याइरहे। पाठकलाई आफूले लेखिरहेको छु है भन्ने छाप छाडिरहे। अहिले इजोरिया यतिधेरै प्रति बिक्री हुनुमा भट्टराई निरन्तर लेखाइ र अध्यधिक रुचाइएको किताब समर लभलाई जस दिन्छन्।

उनी भन्छन्, ‘समर लभले मलाई चिनाएको हो। त्यसको प्रभाव बोकेर बस्ने पाठकले अहिले पनि निरन्तर माया गर्नुभएको छ। त्यो उल्लेख्य मास निरन्तरको लेखाइ हो।’ तर समर लभ मात्रै होइन, कथाकी पात्रदेखि आएका सुविन भट्टराईलाई निरन्तर लेख्न नसकेको भए यो वातावरण बन्थेन भन्ने लाग्छ।

हुन त, कथाकी पात्र, समर लभ, साया, मनसुनमा प्रेमकै बखान हालेका छन् उनले। शब्दको जादुले प्रेमलाई युवाहरूमाझ अझै लोकप्रिय बनाए उनले। सिनेमामा मात्रै नभएर अक्षरमा पनि प्रेम पढ्न सकिन्छ भन्ने बनाएका भट्टराई प्रेमलाई भन्ने शैली र सरल भाषाको पकड सम्झिन्छन्, जसको कारण लोकप्रिय भए। उनी भन्छन्, ‘पाठकले मेरो लेखाइलाई नै मन पराइदिनु भएर नै लोकप्रिय हुन पुगेको हुँ।’

कथाकी पात्र र समर लभ आइसकेपछि भट्टराईले केही समय साप्ताहिक भन्ने पत्रिकामा नियमित प्रेमसम्बन्धी स्तम्भ पनि लेखे। साथै नियमित पुस्तक पनि लेखिरहे। पुस्तक लेखेरै जीवन निर्वाह गरेका भट्टराईले लेख्न बिर्सिएनन्। यसो हुँदा भट्टराईको लेखन पाठकसँग नजिक भइरह्यो। फेरि पत्रिका लाखौँ पाठकमाझ पुग्ने भएका कारण पनि पुस्तक नपुगेको ठाउँमा पनि पुगे। क्रमशः उनले मोटिभेसन लेखहरु लेख्न थाले पत्रिकामा। सामाजिक सञ्जालहरूमा शेयर हुन थाल्यो। पाठकले त्यसरी माया गर्न थालेपछि उनलाई थप उर्जा मिल्यो। उनले युवा पुस्तामाझ मोटिभेसनल लेखहरू लेख्दा–लेख्दै प्रिय सुफी उपन्यास लेखे।

धेरैले इजोरिया पनि कुनै युवतीको नाम राखेर प्रेम नै लेखे भट्टराईले भन्ने थियो। अझ उनलाई एउटा आरोप छ– सुविन प्रेमबाहेक केही लेख्न सक्दैनन्। साहित्य समाजको ऐना हो भन्ने बौद्धिक पाठकले उनलाई समाज सोच्नै सक्दैनन् भन्छन्।

उनी भन्छन्, ‘मैले युवा पुस्तालाई नै फोकस गरेर मोटिभेसनल लेख लेख्दा धेरै पाठक जोडिनुभयो। अनि मैले आत्महत्याको मुद्दा उठाएर प्रिय सुफी उपन्साय लेखेँ। त्यो पनि पाठकले रुचाइदिनु भयो। यसपछि थाहा भयो कि मैले मुद्दामा केन्द्रित भएर लेखे भने पनि पाठकले मन पराइदिनुहुन्छ। अनि इजोरिया चार वर्ष लगाएर लेखेँ।’

धेरैले इजोरिया पनि कुनै युवतीको नाम राखेर प्रेम नै लेखे भट्टराईले भन्ने थियो। अझ उनलाई एउटा आरोप छ– सुविन प्रेमबाहेक केही लेख्न सक्दैनन्। साहित्य समाजको ऐना हो भन्ने बौद्धिक पाठकले उनलाई समाज सोच्नै सक्दैनन् भन्छन्। तर भट्टराई समाजभन्दा पर बसेर कहिल्यै नलेखेको बताउँछन्। उनी आफूलाई अधुरो अनूभुति गर्छन्। भन्छन्, ‘लेख्दै जाने क्रममा अझै अधुरो र अपुरो छु जस्तो लाग्दोरहेछ। लेखनको तिर्खा अझै मेटिएको छैन। उकालो चढ्ने क्रममा जति टाढा उग्लिए, त्यति नयाँ डाँडाहरु देखिने रहेछन्। खतरा लेखेको जस्तो लाग्छ तर मानवीय स्वभाव के रहेछ भने हामीले अझै लेख्दै जानु रहेछ।’

यसो गर्न पाए हुन्थ्यो, यहाँ सुधार गर्न पाए हुन्थ्यो भन्ने सकारात्मक विचार उनले सुनाइरहे पनि बौद्धिक पाठकले उनको किताब पढ्न रुचि देखाउँदैन भन्ने पनि छ। बौद्धिक पाठकले उनको किताबलाई स्तरीय ठान्दैन। किन त?

लेखक भट्टराई भन्छन्, ‘हरेक लेखकलाई मन नपराउने पाठकको ठूलो जमात हुन्छ र मन पराउने पाठकको पनि ठूलो जमात हुन्छ। बौद्धिक हुँ भन्ने कतिपय पाठकले किताबै पढेको हुनुहुन्न। चिया पसलमा कसैले सुनेको भरमा आफ्नो धारणा सुनाउनुहुन्छ। कतिपय बौद्धिक पाठकले इजोरिया पढ्नु नै भएको छैन। मनमा लाग्छ, भेटेर प्रतिक्रिया दिऊँ तर हामीले भन्न मिल्दैन या भनिरहनु परेन।’

लेखकलाई कसले के भनिरहेका छन् भन्दा पनि आफूले कस्तो लेखेर दिएँ भन्ने चिन्ता हुन्छ। पाठकलाई चित्त बुझ्ला नबुझ्ला फरक कुरा भयो। बौद्धिक पाठकले उनका किताब नपढे पनि उनको किताब पढ्ने मास ठूलो संख्यामा रहेछन् भन्ने उदाहरण इजोरियाले पनि दिइसक्यो। उनी भन्छन्, ‘कुनै पनि स्रष्टा या लेखकलाई बुझ्न उसको सबै किताब पढ्नु पर्‍यो। मेरो किताब नपढी धारणा बनाउने बौद्धिक पाठकसँग मेरो चित्त दुखाइ पनि छैन। त्यो मेरो समस्या पनि होइन।’

एक लेखकको सम्पूर्ण सिर्जना मिहिन अध्ययन गरी सामालोचकीय ढंगबाट प्रतिक्रिया दिने पाठक या बौद्धिक पाठक छन् भने म उहाँहरुको भक्त बन्न तयार छु भन्छन्, भट्टराई। उनी भन्छन्, ‘किन खराब, किन सही भनेर पर्गेल्न समीक्षात्मक ढंगले लेखिदिनसमेत कञ्जुस्याइँ गर्नुभएको छ तर पाठकले मलाई विश्वास गर्नु पनि भएको छ। यतिसम्म कि कहिले आउँछ तपाईको किताब भनेर सम्झिनुहुन्छ। उहाँहरुले विश्वास गर्नु भएको छ।’

भट्टराई आफूले नै बौद्धिक पाठकको मनोविज्ञान र प्रस्तुति नदेखेका भने होइनन् । उनी एक किस्सा सुनाउँछन्– ‘म कुनै कार्यक्रममा जाँदा एकजना ५० का उमेर भएका एक बौद्धिक लेखक तथा पाठकले जिस्किएर भन्नुभयो, ‘तपाई त प्लस टुको पाठकका लागि लेख्नु हुन्छ।’

उहाँले मलाई होच्याए पनि पाठकलाई नहोच्याए हुन्थ्यो भन्ने भइरहेको थियो। कम्तीमा पाठकको दोष त छैन। पाठक त सबैको समान हो। पाठक कति कक्षामा पढ्नुहुन्छ, कति कमाउनु हुन्छ, कहाँ बस्नुहुन्छ, कुन जात, समुदाय, धर्म, वर्ग, को हो, कस्तो कलेज पढ्नुहुन्छ कस्तो स्वभावको हो भनिरहनु पर्छ, पर्दैन सायद। ती मानिसले च्वास्स मनमा लाग्ने गरी भनेको अझै बिर्सिन्नँ। नमिठो गरी भनिरहनु पर्थ्योजस्तो लाग्दैन। अब त्यस्ता मान्छेलाई कसरी बौद्धिक मान्छे भन्ने? बौद्धिक लेखक तथा पाठक त शान्त हुन्छन्, सौम्य हुन्छन्, सबैलाई समान सम्झिन्छन्। मलाई मात्रै थाहा हुन्छ, मैले मात्रै जानेको छु, मैले मात्रै राम्रो लेख्छु भन्ने भ्रम पाल्नेलाई कसरी बौद्धिक लेखक मान्ने? बरू, ती पाठक जसले मलाई विश्वास गरिदिनु भयो, मेरो लेखनलाई प्रेम गरिदिनु भएको छ। म आफू बौद्धिक लेखक हुँला नहुँला तर बौद्धिक हुँ भन्दैमा होच्याउन त पाइँदैन, नि है।’

पुराना क्लासिकल किताबहरु मोटै छन्। तिनलाई अत्यधिक रुचाइएको छ। आगात, घामका पाइला, माधवी, (विपीका किताबबाहेक) धेरैजस्तो किताब त मोटै छन्। तर लेखकमाथि पाठकलाई विश्वास भयो भने माटो किताब पनि बिक्री हुन्छ।

अहिले बजारमा किताब मोटो र मूल्य पनि अत्यधिक बढी भयो भन्ने जमात छ। किताब मोटो त हुन्छ तर भित्र गुदी हुँदैन। कमजोर विषयबस्तु र आत्मालापका लागि लेखिएझैं लाग्ने किताब आउनाले पनि पाठक भड्किएका छन्। पाठकहरू सोध्छन्,– यो राजनीतिक किताब हो, होइन?

तर लेखक भट्टराईको सन्दर्भमा भने फरक छ। उनी मोटो लेख्छन् । प्रेम लेख्छन् र पनि अत्यधिक किताब बिक्री हुने लेखकमा पर्छन्। उनका अनुसार मोटो र पातलो भएकै भरमा किताब बिक्री हुने होइन। बरु, विषयबस्तु नै बलियो हुनुपर्छ।

उनी भन्छन्, ‘पुराना क्लासिकल किताबहरु मोटै छन्। तिनलाई अत्यधिक रुचाइएको छ। आगात, घामका पाइला, माधवी, (विपीका किताबबाहेक) धेरैजस्तो किताब त मोटै छन्। तर लेखकमाथि पाठकलाई विश्वास भयो भने माटो किताब पनि बिक्री हुन्छ। अर्को कुरा सामाजिक सञ्जालको कारण पाठकसँग जोडिएको हुँदा पनि किताब बिक्री भएको हो भन्ने लाग्छ। मेरो किताब आउँदा सेलिब्रेट गरिदिनुभएको छ। फेसबुक र ट्वीटरबाट शेयर गरिदिनुभएको छ। ट्वीटर, इन्स्टाक्रम, फेसबुक, टिकटकले पनि पाठकसम्म पुग्न सघाउँदो रहेछ। अर्को कुरा लेखनका राम्रा र छोटा लाइनहरु पनि पाठकमाझ छोडिराख्ने गर्छु।’

प्रायः बिहानदेखि दिउँसोसम्म लेख्ने समय जुराउँछन् भट्टराई। सामाजिक सञ्जालमा जबरजस्ती लेख्दैनन्। लेख्दा अलिकति प्रभाव परोस् भनेर लेख्छन्। सुन्दर लेख्छन्। मिट्ठो लेख्छन्। भन्छन्, ‘किताब लेख्दै जाने क्रममा लेखिएको हो।’

लेखक पनि ब्राण्ड हुनुपर्ने बताउँछन्। आफू पाठक भएर हेर्दा अरू लेखक ब्राण्ड लाग्छ भने आफूलाई पनि कसैले ब्राण्डको रुपमा लिएको हुन सक्ने बताउँछन् भट्टराई। भन्छन्, ‘लेखक पनि अब चलचित्रका नायकजस्तो ब्राण्ड हुनुपर्छ। सकारात्मक र सन्देशमूलक विज्ञापनमा ब्राण्डको रुपमा काम गर्न सक्ने वातावारण हुनुपर्छ। मलाई लाग्छ, लेखक पनि ब्राण्ड हुनुपर्छ। लेखकको पनि स्टारडम हुनुपर्छ। सेलिब्रेटी कलाकारको जस्तो हैसियत लेखकले पनि राख्नु पर्छ भन्ने वकालत गर्छु।’

भट्टराईका अनुसार लेखेर बाँच्न सकिन्छ। भन्छन्, ‘१३ वर्ष भयो जागिर नखाएको। फूल टाइमर लेखक भएर बाँचेकै छु।’

त्यसो भए यो सहरमा उनी लेखेर कति कमाउँछन् त? उनले ठ्याक्कै आँकडा भनेनन् तर आफूलाई बाँच्न पुगेको बताउँछन्। र, किताबबाटै केही करोड पैसा कमाएको भन्न हिचकिचाएनन्।

बिक्रीको हिसाबले साया अगाडि भए पनि, मूल्यको हिसाबले इजोरिया अगाडि छ तर लेखक भट्टराईलाई समर लभ ‘रिच’ लाग्छ। ८० हजार समर लभ बिकेको बताउँछन् उनी। तर छोट्टो समयमा र आम्दानीको हिसाबले इजोरिया अग्रपंक्तिमा छ।

लिखित उपन्यासहरूमध्ये साया पात्र खुबै मन पर्छ उनलाई। र अहिले इजोरिया पुस्तक मन पर्ने बताउने भट्टराईले इजोरिया पात्रमार्फत मधेसको कथा भनेका छन्। महिलाको कथा भनेका छन्। तीन पुस्ताको कथा भनेका छन्।

सामाजिक मुद्दामा नलेखेको आरोपबाट मुक्त हुन पनि इजोरिया लेखेजस्तो लागिरहँदा भट्टराई भने लेखक भर्सटायल हुनुपर्ने बताउँछन्। जे पनि लेख्न सक्नुपर्छ भन्ने बुझाइ छ उनको।

‘लेखन भित्रैबाट लेखिनु पर्ने र इमान्दार भएर लेख्न सक्यो भने किताब अवश्य राम्रो हुने हो’, उनी भन्छन्, ‘म भित्रैदेखि लेख्छु। भावनालाई निचोडेर लेख्छु। यो आत्मविश्वासले पनि मलाई सघाएको भन्ने लाग्छ।’

जतिसकै डाटा भए पनि, गहिरो अनुसन्धान गरे पनि, पुस्तकमा लेखक नै पोखिनुपर्ने बताउँछन् भट्टराई। जबसम्म भित्रैबाट अनुभूत गरेर लेख्न सकिँदैन तबसम्म लेखकको कला देखिँदैन। उनी भन्छन्, ‘लेखक भावुक हुनुपर्छ।’

इजोरियाको पहिलो ड्राफ्ट तीन महिनामा सकेका थिए र पुनर्लेखन गर्न तीन–चार वर्ष लगाएका थिए उनले। काठमाडौँभन्दा बाहिरको परिवेश राखेर नयाँ पुस्तक लेख्ने सोचले उनी जनकपुर पुगे र इजोरिया लेखे। एक लाख पचास हजारको शब्दमा उनले पचास हजार शब्द त फ्याँके।

अहिले चर्चित लेखकलाई सिनेमा र रंगमञ्चका पाठकले पछ्याइरहेका छन्। राम्रा पुस्तकमाथि नाटक तथा फिल्म बनाउने सोचले लेखकसँग नजिक हुन्छन्। यस्तोमा लेखक भट्टराईसँग दैनिक दुई जना फिल्म मेकरले फोन गरेर फिल्मको कुरा गर्छन्। भेटौँ भन्छन्। कथा लेख्न वा स्क्रीप्ट लेखिदिन अनुरोध गर्छन्। तर कहिले पैसा र कहिले लेखक र फिल्म निर्मातासँग कुरा बाझिन पुगेपछि धेरै प्रोजेक्ट तुहिएको अनुभव छ उनीसँग। किन त्यस्तो हुन्छ त?

उनी भन्छन्, ‘मेकरहरु एउटा गीत, अथवा हिरोइनको गाउनमा खर्च गर्न तयार हुँदारहेछन् तर एउटा लेखकलाई स्क्रीप्ट लेखाउन खर्च गर्न कन्जुस्याइँ गर्दा रहेछन्। फिल्म लेखनलाई सामान्य लिनेहरूले फिल्म उद्योग ध्वस्त पारेका छन्।’

उसो त उनको पुस्तक समर लभमाथि फिल्म बन्यो तर खुसी हुन सकेनन् उनी। निराश भए। चर्चित पुस्तकको कमजोर फिल्म आउला भनेर उनले सोचेका थिएनन्। भन्छन्, ‘समर लभको मेकिङकै प्रोशेसमा केही आपत्ति थियो, जसलाई सुधार्न सकिएन।’

जसरी एउटा खराब चलचित्र हेरेर दर्शकले अर्को पटक नेपाली फिल्म हेर्न धेरैबेर सोचेर हलमा जाँदैन त्यसै गरेर पाठकले खराब किताब पढेर भड्किने बजार बनेको प्रति उनी चिन्ता सुनाउँछन्, ‘खराब किताब नयाँ पाठकको हातमा पर्न पुग्दा वितृष्णा हुन सक्छ र पाठक भड्किन पनि सक्ने अवस्था छ, त्यसैले लेखक प्रकाशक सबैले यो चिन्ताको विषय सम्झिएर पाठकलाई राम्रो किताब पढ्ने मौका दिनुपर्छ।’

जेठ ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्