बागमतीमा मन्त्रिपरिषद् विस्तारः कांग्रेसका चार र एकीकृत समाजवादीका दुई मन्त्री थपिए

काठमाडौँ – बागमती प्रदेश सरकार विस्तार भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेसबाट ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन्।
कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्यमन्त्री बन्ने पक्का भएको छ भने रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन्।
नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन्।
नवनियुक्त मन्त्रीहरुको आइतबार दिउँसो ३ बजे शपथ ग्रहण समारोह तय भएको छ। मन्त्री नियुक्त गरेपछि बागमतीको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ।
बागमतीमा २०७९ पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा गठबन्धन बदलिएपछि फागुन १३ मा राप्रपा र चैत १० मा नेकपा एमालेले सरकार छाडेको थियो।
त्यसपछि नेपाली कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए।