समाजमा छाडातन्त्र मौलायोः मुख्यमन्त्री पाण्डे

फाइ

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाज छाडातन्त्रमा गएको टिप्पणी गरेका छन्। छाडातन्त्रमा गएको समाजमा हुने अराजकताबाट फाइदा लिन खोज्दा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको उनको भनाइ छ।

नेपाल प्रेस युनियन कास्कीको १० औं आधिवेशनमा मुख्यमन्त्री पाण्डे भने, ‘जानेर नजानेर बुझेर नबुझेर त्यसमा हाम्रो पनि योगदान भइरहेको छ कि।’ मिडियाकर्मीले उपलब्धि जोगाउन गम्भीर भएको कलम चलाउनुपर्ने उनको भनाइ छ।

एउटै सन्दर्भका समाचार पनि मिडियापिच्छे फरक–फरक सम्प्रेषण हुने गरेकोमा चिन्ता व्यक्त गरे। पत्रकारिता सत्य तथ्यमा आधारित हुनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड छ। सामाजिक सञ्जालले अफवाह बढी फैलाएको उनको आरोप छ।

प्रेस युनियन कास्कीले ४ पत्रकारलाई पुरस्कृत गरेको छ। नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत भए। वर्ष २०७७ बाट पौडेल र वर्ष २०७९ बाट बास्तोला पुरस्कृत भएका हुन्। उनीहरुले जनही ३३ हजार ३३३ रुपैयाँ प्राप्त गरे।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलाई ५१ हजार राशिको सुप्रेम शारदा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ।
प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार नवीन सिग्देल पुरस्कृत भए। पुरस्कारको राशि २५ हजार ५२५ रुपैयाँ र सम्मानपत्र छ।

जेठ ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्