सन्दीपको मुद्दामा अदालतले मगायो जन्मदर्ताको सक्कल कपी, भएन अन्तिम चरणको बहस

काठमाडौँ – राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल चरणको बहसका लागि जिल्ला अदालत काठमाडौँमा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजालासमा परेको पेशीमा आज पनि फाइनल चरणको बहस भएन।
पक्षको मागबमोजिम न्यायाधीश पराजुलीको इजालासले पीडितको जन्मदर्ताको सक्कली प्रति मगाउने तथा अस्पतालसँग पनि सक्कली फाइल पठाउनका लागि आदेश गरेको छ। न्यायाधीशले जन्मदर्ताको विवाद रहेको भन्दै सक्कली प्रति नै मगाउनका लागि आदेश गरेको स्रोतले बतायो।
सन्दीपको मुद्दामा पटक–पटक फाइनल चरणको बहसका लागि पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दा अन्तिम किनारा लाग्न सकेको छैन।
सर्वोच्च अदालतले गत १५ फागुनमा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) को प्रक्रिया अबलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी दिएको आदेशको करिब तीन महिना पूरा हुँदा पनि मुद्दाले किनारा पाउन सकेको छैन।
यसअघि गत १९ वैशाखमा मुद्दाको पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको थियो। जहाँ सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए। न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिनुपर्ने आमचलन रहँदै आए पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइनेमा राखेपछि पुनः फाइनल चरणको बहस भएको छैन।