बूढानीलकण्ठको हिट एण्ड रन केसका मल्ललाई ४ वर्ष कैद, जिल्लाको फैसला बदर

दुर्घटनाबाट क्षतिग्रस्त बनेको कार।

काठमाडौँ – बूढानीलकण्ठमा साढे तीन वर्षअघि भएको हिट एण्ड रन मुद्दाका आरोपी पृथ्वी मल्ललाई उच्च अदालत पाटनले चार वर्ष कैद ४० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।

२०७८ चैतमा जिल्ला अदालत काठमाडौँले गरेको फैसलालाई बदर गर्दै आइतबार उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले मल्ललाई चार वर्ष कैद गरेको हो।

२०७६ मंसिरमा भएको ‘हिट एण्ड रन’ घटनाका दोषी मल्ललाई जिल्ला अदालतले हेलचेक्रेयाइ पूर्वक सवारी चलाएको ठहर गर्दै ६ महिना कैद र दश हजार रुपैयाँ मात्रै जरिवाना गरेको थियो।

प्रवक्ता मन्दिरा शाहीका अनुसार उच्च अदालतले लापरबाही पूर्वक सवारी चलाएको ठरह गरेको हो। लापरवबाही पूर्वक सवारी चलाएको अवस्थामा तीन वर्षदेखि १० कैद सजाय हुने मुलुकी अपराध संहिताको प्रावधानअनुसार उनलाई अभियोग ठहर गर्दै चार वर्ष र ४० हजार जरिवाना गरेको शाहीले जानकारी दिइन्।

मल्लले लापरवाही पूर्वक कार चलाएको आरोप दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले १० वर्ष कैद माग गरेको थियो।

उनले मदिरा सेवन गरी चलाएको सवारीका कारण गोर्खाकी लिला देवकोटाको निधन भएको थियो। रातका समयमा बा १४ च ६१२३ नम्बरको कार दुर्घटना देवकोटालाई ठक्कर दिएको थियो।

घटना हुँदा २१ वर्षका मल्ल बिदा मनाउन अमेरिकाबाट नेपाल आएका बेला दुर्घटना गराएका थिए। मल्ल परिवारले मृतकका परिवारलाई ५७ लाख क्षतिपूर्ति दिएको बताइन्छ।

मल्ललाई सर्वोच्चले धरौटिमा रिहा गरेपछि आदेश गर्ने न्यायाधीश सपना प्रधान मल्लको चर्को आलोचना भएको थियो।

जेठ ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्