संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछः प्रदीप ज्ञवाली

काठमाडौँ – एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधनसम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन्।
काठमाडौंमा आइतवार आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले चाँडै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुनेमा विश्वस्त रहेको बताए।
उनले अन्य कुरामा सत्तापक्षसँग आफ्ना विभिन्न असहमति भए पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भने कुनै असहमति नरहने स्पष्ट पारे। विधेयक टुंगोमा पुर्याउँदा दलबीच पर्याप्त परामर्श, बेपत्ता पारिएका व्यक्तिका परिवारबीच पर्याप्त परामर्श र पीडितको न्याय हुनेगरी पारित गर्नुपर्नेमा जोड दिए।
उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए।