बझाङमा हिमपहिराेमा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता

बझाङ – बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको हिमपहिरामा परेर ज्यान गएको छ। आज सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा सङ्कलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई घाइते भएका छन् भने दुई जना बेपत्ता छन्। घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन्।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुङ्गाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ। हिमपहिराेमा परेर मृत्यु हुने, घाइते र बेपत्ता हुनेको परिचय खुलेको छैन।