मुम्बईले हैदराबादलाई हरायो, प्लेअफ समीकरणका लागि गुजरात र बैंग्लोरको खेलको प्रतिक्षा

इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले आफ्नो प्लेअफ सम्भावना कायम राखेको छ। आइतबार भएको दिनको पहिलो खेलमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै प्लेअफ आशा कायम राखेको हो।
हैदराबादले दिएको २ सय १ रनको लक्ष्य मुम्बईले १८ ओभरमा पूरा गरेको थियो। मुम्बईको जितमा क्यामरुन ग्रिनले शतकीय इनिङ खेलेका थिए।
मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गर्दै हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो। जवाफमा मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
मुम्बई जितपछि तत्काललाई १६ अङ्कका साथ चौथो नम्बरमा उक्लिएको छ। तर उसको प्लेअफ पक्का हुनका लागि लिग चरणको अन्तिम खेलमा आरसिबी र गुजरातको खेलको प्रतिक्षा गर्नुपर्ने छ।
आउट फिल्ड भिजेका कारण आइतबार नै हुनुपर्ने आरसिबी र गुजरातको खेल सुरु हुन सकेको छैन। यदि वर्षाका कारण यो खेल रद्द भएमा मुम्बईले अन्तिम चारमा स्थान पक्का गर्नेछ। यदि यो खेलमा बैंग्लोर विजयी भएमा मुम्बई आउट हुनेछ।
पहिले ब्याटिङ गरेको सनराइजर्सका लागि मयंक अग्रवालले ८३ रनको इनिङ खेलेका थिए। त्यस्तै, भिव्रन्त शर्माले ६९ रन बनाउँदा हेनरिच क्लासेनले १८ रन बनाए। कप्तान एइडन माक्रमले १३ रन बनाउँदै टिमलाई २०० रनको स्कोरमा पुर्याए।
जवाफमा उक्त लक्ष्य मुम्बईले १२ बल बाँकी हुँदै पूरा गर्यो। मुम्बईका लागि क्यामरुन ग्रीनले ४७ बलमा ८ चौका र ८ छक्काको सहयोगमा १०० रनको अविजित इनिङ खेले। त्यस्तै, कप्तान रोहित शर्माले ५६ रन बनाए।