छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज – रौतहटमा चक्कु प्रहार गरी छिमेकीको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गौर नगरपालिका–७ सिसवा टोल बस्ने ४० वर्षका शेख कबिरलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कबिरले गत शुक्रबार राति पुरानो रिसइवीका कारण छिमेकी यार महम्मद खानको छातीमा छुरा प्रहार गर्दा उनको उपचारको क्रममा मृत्यु भएको थियो।

फरार रहेका कबिरलाई वडा नम्बर ७ कै रामजानकी मन्दिरमा फेला पारी पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए।

पक्राउ परेका उनलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको यादवले बताए।

जेठ ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्