नख्खु-भैंसेपाटी सडक खण्डको काम जेठभित्र सम्पन्न हुन्छः मन्त्री ज्वाला

फाइल फोटो।

काठमाडौँ – भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु-भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन्।

सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले यसअघि सम्बन्धित निकायहरुसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिवद्धता जनाए। उनले आफूले निरीक्षणका क्रममा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको बताएका हुन्।

‘यो सडकका बारेमा म भौतिक, पूर्वाधार तथा यातायातमन्त्री भइसकेपछि एउटा बहसको विषय थियो। यस भन्दा पहिला पनि त्यतिबेलाका मान्य मन्त्रीज्युले निरीक्षण गर्नुभएको थियो। यो २६ करोडको ठेक्का लागेको र पछिल्लो समयमा अलि धेरै चर्चा बहसको विषय थियो।’ उनले भने,’म आउने बित्तिकै हाम्रो टिम बसेर यो सडकलाई चर्चामुक्त गरेर, चर्चामुक्त भनेको धुलो मुक्त गर्नु हो। त्यसका लागि छिटो भन्दा छिटो काम सम्पन्न गरेर कालोपत्रे गर्नुपर्ने अवस्था थियो। हामीले निरीक्षण गर्ने कुरामा हतार देखाएनौँ, हामीले मन्त्रालयबाट मातहतका निकायलाई निर्देशन गरेका थियौँ। सक्रियताकासाथ काम अहिले अघि बढेको छ। केही दिनमा मुल कामहरु सकिन्छ। जेठ महिना भित्र काम पूरा हुने अवस्था छ। अझै तिब्रताका साथ काम गरेर सम्पन्न गर्नुपर्नेछ। चाँडै काम सम्पन्न गर्न निर्देशन दिएका छौँ। काम छिटो हुने कुरा नै मुख्य कुरा हो। समन्वय भएको भए अझै छिटै हुन्थ्यो कतिपय ठाउँमा समन्वय नहुँदा हिजो ढिलो भयो। हामी समन्वय र सहजीकरणमा कमी हुन दिँदैनौँ। अब यहाँका जनता लामो समय धुलोमा हिँड्नुपर्ने र सास्ती व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछौँ।’

जेठ ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्