योगेश भट्टराईलाई देवेन्द्रको जवाफ- ‘मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ’

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताउएका हुन्।

त्यसअघि नेकपा एमालेका सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका थिए। भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पारे।

मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोष पल्टाएर हेर्न पनि उनले आग्रह गरे। उनले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान
बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफु हजार पटक आँखा जुधाएर वहश गर्न तयार रहेको बताए।

इतिहासलाई सम्मान गर्न पनि आग्रह गर्दै उनले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनि नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गरे।

‘माननीयजीलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु। यो माछायुद्ध थियो? भालुयुद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए? कि रुख, ढुंगाहरु लडेका थिए? माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला।’ उनले भने,’मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ। कि जनयुद्ध भनिन्छ। मानिसका छोराहरुले लडेका युद्ध थियो। बिर्सिनुभयो बृहत शान्ति सम्झौता? तपाईँको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो? हामी त्यही श्रृङ्खलामा छौँ। त्यसकारण म के भन्न चाहन्छु भने नेपाली जनतालाई सार्वभौम बनाउनको निम्ति, संविधानसभाबाट संविधान बनाउनको निम्ति जनयुद्ध लडिएको थियो। म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु आउनुस् बहस गर्न यहाँ समय नमिल्ला। नेपाली जनताले एकात्मक शाहवंशीय राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि लडाइँ लडिएको थियो। हामी सबैपछि सहकार्य गर्यौँ। जनआन्दोलनमा आयौँ। सलाम छ। तर इतिहासलाई नबिर्सौ। रोष्टममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौँ यहाँ। माननीयज्युहरु धनगढीमा गएर तपाईहरुले अहिले चलिरहेको छ नागरिक अभिनन्दन। राजतन्त्र फर्काउने कुरा। त्यहाँ गएर बहस गर्नुस्। हामी यहाँ सहकार्य गर्न तयार छौँ। आजको इतिहास सबैले मिलेर ल्याएको गणतन्त्रलाई जोगाएर अगाडी बढ्ने इतिहास हो। विगतमा सबै आन्दोलनप्रति सम्मान गर्न सिकौँ।’

साथै उनले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रुपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताए।

उनले निति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको बताए। निति तथा कार्यक्रम पारित हुने उनले बताएका हुन्।

जेठ ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्