सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग अधिकारको आवाज उठाउने

फाइल तस्बिर।

काठमाडौँ- सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग अधिकारबारे आवाज उठाउने तयारी गरेका छन्।

यही जेठ १० गते हुने अन्तर प्रदेश बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीको उपस्थितिमा संघीयता कार्यान्वयन र अधिकारका सवालमा छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा गरेर अधिकारका सवालमा गण्डकी प्रदेशले छलफल गर्न लागेको छ।

मुख्यमन्त्रीहरुले अधिकार विकेन्द्रीकरण गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरेका हुन्। संघ, प्रदेश र स्थानीय तहबीच अहिले पनि साझा सूचीका अधिकार प्रयोगमा अन्योल हुनुपर्ने अवस्था विद्यमान रहेकोमा प्रधानमन्त्रीसँग छलफलले केही हदसम्म गाँठो फुकाउने मुख्यमन्त्रीहरुले विश्वास लिएका छन्।

गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री दाहाल र अरु प्रदेशका मुख्यमन्त्रीहरुलाई निम्ता पठाइसकेको छ। प्रदेशका अधिकार प्रयोग गर्न कहाँनेर समस्या हो, कहाँनेर कानुनी बाध्यता छ र संघको व्यवहार तथा अड्चन कहाँनेर छ भनेर मिहिन ढंगले छलफल गरेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मुख्यमन्त्रीहरुको तयारी छ।

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ भदौ २१ र २२ गते पोखरामा मुख्यमन्त्रीहरुको भेला भएको थियो। तत्कालीन मुख्यमन्त्री गुरुङको नेतृत्वमा भएको भेलाले संघीय सरकारसँग अधिकार खोसेर भए पनि लिनुपर्ने भन्दै उदघोष गर्दै ९ बुँदे घोषणा पत्र जारी गरेको थियो।

त्यसलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको अन्तर प्रदेश परिषदको बैठकले प्रदेशका केही अधिकार हस्तान्तरण गरेको थियो।

 

जेठ ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्