नीति तथा कार्यक्रम अर्को ल्याउनुपर्छ भन्ने माग उचित छैनः वामदेव गौतम

काठमाडौँ – राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधानसम्मत रुपमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित नभएको बताएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले यस्तो बताएका हुन्।
सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको पुनःलेखन गरी ल्याउनुपर्ने माग गरेका थिए। साथै संघीय संसदका दुवै सदनमा नेकपा एमालेका सांसदहरुले नीति तथा कार्यक्रम पुनःलेखन गरी प्रस्तुत गर्नुपर्ने बताइरहेका छन्।
गौतमले भने संवैधानिक रुपमा नीति, कार्यक्रम प्रस्तुत गर्ने अधिकार सरकारलाई नै हुने भएकाले यस्तो माग जायज नरहेको जिकिर गरे। उनले नीति तथा कार्यक्रममा एक वर्षभित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने योजनाहरु अघि सारिएको उल्लेख गरे।