मृत हात्तीका अंग पोस्टमार्टमका लागि लगियो

झापा – सोमबार बिहान झापामा मृत फेला परेको हात्ती कसरी मर्‍यो भन्नेबारेमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

सोमबार बिहान झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको थियो। बिहान करिब चार बजेतिर मृत हात्ती देखेपछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए।

सूचना पाएलगत्तै प्रहरी तथा डिभिजन वन कार्यालय झापाका कर्मचारी मृत हात्ती भेटिएको स्थानमा पुगेका थिए।

प्रहरीका अनुसार हात्ती फेला परेको स्थानमा कुनै विद्युतीय धराप छैन। हात्तीको शरीरमा चोट पनि नभएको देखिएकाले हात्ती के कारणले मर्‍यो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले कोशीटप्पु वन्यजन्तु आरक्षका पशु चिकित्सकको टोलीले हात्तीका भित्री अंगहरू पोस्टमार्टमका लागि लगेको बताए।

उनका अनुसार पशु चिकित्सकको टोलीले पाँच दिनभित्र हात्तीको मृत्युको सम्भावित कारणबारे खुलाउनेछन्।

राईले भने, ‘त्यो रिपोर्ट आइन्जेल हामी स्थानीयबासीसँग पनि सोधपुछ गर्छौं। रिपोर्ट पनि आएपछि हात्ती के कारणले मर्‍यो भन्ने पत्ता लाग्ला।’

चालु आर्थिक वर्षमा झापामा दुईवटा हात्ती मरेका छन् भने हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ।

अहिले जताततै मकैबाली लगाइएकाले मकै खानका लागि हात्ती सर्वसाधारणका खेतमा पस्ने गरेका छन्।

त्यसका अतिरिक्त नेपाल-भारत सीमा क्षेत्रमा लगाइएको विद्युतीय तारबार पनि नाघेर हात्तीका हुल मानववस्तीमा पस्ने गरेका छन्।

जेठ ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्