काभा महिला भलिबलमा नेपालको सुखद् सुरुवात

तस्बिरः बर्षा शाह/देश सञ्चार।

नेपालमा सोमबारबाट सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै सुखद सुरुआत गरेको हो।

नेपालले किर्गिस्तानलाई २५–११, २५–१९ र २५–११ को सेटमा पाखा लगायो। अब नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्ने छ। प्रतियोगिताअन्तर्गत नै सोमबार भारत र उज्वेकिस्तानले पनि आ–आफ्नो खेलमा जित निकालेका छन्।

दिनको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो। उज्वेकिस्तानले श्रीलंकालाई २७–२५, २५–१५ र २५–१३ ले हराएको थियो। त्यस्तै भारतले बंगलादेशलाई २५–३, २५–९ र २५–६ को सेटमा पराजित गरेको थियो।

प्रतियोगिताको समूह ‘ए’मा आयोजक नेपाल सहित भारत, बंगलादेश र कीर्गिस्तान रहँदा समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन्। दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन्। च्यालेन्ज कपमा कुल २० खेल हुनेछ। प्रतियोगिता १४ जेठ सम्म सञ्चालन हुने छ।

जेठ ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्