फोटो फिचर

गोरखापत्र संस्थानले ३० वर्षमा खिचेका ऐतिहासिक फोटो प्रदर्शनी सकियो (तस्बिरसहित)

काठमाडौँ – २०३० सालदेखि २०६० सालसम्मका फोटो खिच्दै आएका फोटो पत्रकारको केही थान फोटोमध्येबाट आफ्नो फोटो देखाइरहेका थिए फोटो पत्रकार राजेन्द्र चित्रकार। उनले देखाएको फोटो हेरिरहेकी थिइन्, नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंह।

गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशको अवसरमा फोटो हेर्न पुगेका चित्रकार आफूले गर्दै आएको कामप्रति खुसी देखिए। उनले भने, ‘आफूले खिचेको फोटो यसरी ऐतिहासिक होला भनेर सोचिएको थिएन।’

वैशाख २४ गतेदेखि सुरु भएको फोटो प्रदर्शनीको १५ औँ दिन अर्थात आज (जेठ ८ गते सोमबार) अन्तिम दिन गोरखापत्र संस्थानमा आइ फोटो प्रदर्शनी अवलोकन गर्नेको बाक्लो भीड थियो। राजनीतिकर्मी, विद्यार्थी, पत्रकार तथा कलाकारहरुको मासले फोटो प्रदर्शनी हेरेका थिए।

प्रदर्शनका लागि राखिएका फोटोहरू गोपाल चित्रकार, विन्दुराज सिंह सुवाल, रामेश्वर कायस्थ, भीम गुरुङ, भरत देउराली, रमेश केसी, शेखर चौलागाईं, राजेन्द्र चित्रकार र नातिकाजी महर्जनले खिचेका हुन्।

प्रदर्शनीमा देशको सो अवधिमा भएका राजनीतिक परिवर्तन तथा विभिन्न घटनाक्रम समेटिएका फोटोहरू प्रदर्शनी गरिएको गोरखापत्र फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईंले जानकारी दिए। उद्घाटन समारोहमा वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारलगायतको सहभागिता रहेको थियो।

प्रदर्शनीमा काठमाडौँको धर्मपथस्थित गोरखापत्र संस्थानमा दशरथ रङ्गशाला दुर्घटनादेखि भारतले लगाएको नाकाबन्दीसम्मका ऐतिहासिक फोटोहरू प्रदर्शनका लागि राखिएको थियो।

त्यस्तै, २०५१ साल साउन महिनामा ६ वाम घटकद्वारा खुलामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, २०३३ सालतिर राष्ट्रिय विकास कार्यक्रम एनडीएस कार्यक्रमका लागि छनौट भएको युवाका तस्बिर राखिएको थियो।

तस्बिरहरु : सुलभ श्रेष्ठ