सभामुख र प्रमुख प्रतिपक्षी दलका नेतासहित सुदूरपश्चिम मन्त्रिपरिषदको टोली सिंहदरबारमा

काठमाडौँ – सुदूरपश्चिममा मूख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका निवर्तमान मूख्यमन्त्री साथै कृषि बाहेकका सबै मन्त्रीहरूसहित मूख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेटेका हुन्।

भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन्। सम्भावना भएरपनि सुदूरपश्चिम पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराएका हुन्।

भेटमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता अब हटेको बताएका थिए। कुनै बेला काठमाडौँ आउनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेका सुदूरपश्चिम टाढा जस्तो लागेपनि अहिले सुदूरपश्चिम काठमाडौँको धेरै टाढा नरहेको सुनाए।

सुदूरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन उनले सुझाव दिए।

‘सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको हो’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नु परो, सुदूर र कर्णालीका योजना सुदुर कर्णालीले नै बनाउने हो।’

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्