‍सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधीः सिके राउत

फाइल तस्बिर

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको आरोप लगाएका छन्।

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम संघीयता विरोधी भएको बताएका हुन्।

उनले नीति तथा कार्यक्रममा जम्मा तीन पटक मात्रै संघीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले प्रदेश प्रहरी, कर्मचारी समायोजनलगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रुपमा सम्बोधन गर्ने पहल गर्नुपर्ने बताए।

उनले पाँच लाख रोजगारी, प्रत्येक पालिकामा एक–एक वटा शीतगृह, कृषि भण्डारण केन्द्र, एक टोल एक सामुहिक कृषि, उत्पादन निति, सामुहिक खेती प्रणालीको लक्ष्य सरकारले लिनु भने राम्रो भएको बताए।

उनले भने, ‘नीति तथा कार्यक्रम ७० पानाको छ, त्यसमा केवल तीन पटक संघीयताको उल्लेख गरिएको छ। संघीयतालाई सबल गर्ने खालको ठोस नीति तथा कार्यक्रम देखिएन। म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयता विरोधी देखिएको छ।’

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्