दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढामगरलाई राष्ट्रपतिको बधाई

काठमाडौँ – दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन्।
राष्ट्रपतिकी छोरी आज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले मंगलबार राष्ट्रपतिको बधाई सन्देश बुढामगरलाई हस्तान्तरण गरेका थिए।
उनी सगरमाथा आरोहण गरेर आजै काठमाडौँ आइपुगेका हुन्। उनलाई पर्यटनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए। यससँगै बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।
उनले कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।