मधेस प्रदेशः तेस्रो पटक मन्त्रिमण्डल विस्तार, अझै पाएन पूर्णता

जनकपुरधाम – मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन्। मंगलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका हुन्।

तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा सरकारमा सहभागी रहेका दलहरु भने मन्त्रालयको विषयलाई लिएर असन्तुष्ट भएका छन्। मंगलबार मुख्यमन्त्री यादवले नियुक्त गरेका तीन मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ खुवाए।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री, वीरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री र नेकपा एसका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्।

सरकारमा कांग्रेस र नेकपा एस सहभागी हुँदा पहिलेदेखि नै सरकारमा रहेका माओवादी केन्द्र र जनमत पार्टी मन्त्रालयको विषयलाई लिएर असन्तुष्ट बनेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीसमेत सरकारमा सहभागी भएन।

सरकार गठनपश्चात मुख्यमन्त्रीसँगै सपथ लिएका जनमतका एक मन्त्री भने पुनः विना विभागीय मन्त्री बनेका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका जनमत पार्टीका वसन्त कुश्वाहा तेस्रो पटक मन्त्रिमण्डल विस्तार हुँदा विना विभागीय हुन पुगे। उनले पुस २९ गते विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए भने माघ १२ गते कृषि मन्त्रालयको जिम्मेवारी पाएका थिए।

यस्तै, माघ २० गते जसपाकी सुरिता कुमारी साह सामाजिक विकास मन्त्री बनेकोमा उनको पनि मन्त्रालय खोसिएको छ। पुस २९ गते शपथ लिएका मुख्यमन्त्री यादवले माघ १२ गते ३ विना विभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए। उनले पहिलो पटक माघ २० गते मन्त्रिमण्डल विस्तार गरेका थिए भने माघ २४ गते माओवादी केन्द्रलाई सहभागी गराएर दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका थिए।

सत्ता समीकरण परिवर्तन भएपछि गत चैत २१ गते नेकपा एमालेबाट मन्त्री बनेकाहरुले राजीनामा दिएपछि मंगलबार कांग्रेस र नेकपा एसलाई सहभागी गराएर तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरिएको हो।

तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरिए पनि गृह सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवले आफैसँगै राखेका हुन्।

अहिलेको मन्त्रिमण्डलमा मुख्यमन्त्री यादवसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयमा कृष्ण प्रसाद यादव, अर्थमन्त्रीमा संजय कुमार यादव, शिक्षा तथा समाज कल्याण मन्त्रीमा महेश प्रसाद यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्द बहादुर न्यौपाने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वीरेन्द्र प्रसाद सिंह, उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा सिंगासन सा कलवार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा सुनिया यादव र राज्यमन्त्रीमा रहवर अन्सारी रहेका छन्।

यस्तै, मन्त्री वसन्त कुमार कुशवाहा र सुरिता कुमारी साहको मन्त्रालय खोसिएको छ भने राज्यमन्त्री रहेका शेख अब्दुल कलाम आजाद र संजयकुमार यादवको मन्त्रालय खोसिएको छ।

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्