खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन जेठ २३ बाट

काठमाडौँ – जेठ २३ देखि २५ गतेसम्म प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलन पर्यटकीय गन्तव्यस्थल खप्तडमा हुन लागेको हो। यसबारेमा मंगलबार आयोजकले काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

जैविक विविधता र प्राकृतिक सौन्दर्य र आध्यात्मिक आस्थाको धरोहरका रुपमा रहेको खप्तड क्षेत्रलाई आध्यात्मिक ध्यान केन्द्रका रुपमा विकास गर्न यो सम्मेलन आयोजना गर्न लागिएको व्यवस्थापन समितिले जनाएको छ।

सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्। सम्मेलनमा उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री र प्रदेशमन्त्रीहरुको सहभागीता रहने व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए।

उनले सम्मेलनमा करिब ५ सयभन्दा बढीको उपस्थिति रहने बताए। सम्मेलनमा योगगुरु रामदेव, जगतगुरु वालसन्त, आयुर्वेद शिरोमणि बालकृष्ण आचार्यलगायत आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्