शरणार्थी प्रकरणमा श्रीमानलाई फसाइएको भन्दै सभापति देउवासँग मञ्जु खाँणको ‘मुखमुखै’

काठमाडौँ- कांग्रेस नेत्री एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मन्जु खाँणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेकी छन्।
मञ्जुले देउवा निवास धुम्बाराही पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पति बालकृष्ण खाँण पक्राउ परेको बारे चिन्ता व्यक्त गरेकी हुन्।
मञ्जु मंगलबार बिहान १० बजेतिर देउवा निवास पुगेकी स्रोतले जानकारी दिएको छ। भेटमा मञ्जु खाँणले देउवासँग असन्तुष्टि पोखेकी थिइन्।
उक्त प्रकरणमा आफ्नो श्रीमानको मात्रै गल्ती नभएको भन्दै सुदूरपश्चिमका देवी देवताको नाम मञ्जुले लिएकी स्रोतको भनाइ छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना श्रीमान बालकृष्ण खाँणलाई मात्रै फसाइएको र सो कुरा भगवानले देख्ने भन्दै देउवासँगको भेटपछि असन्तुष्टि पोख्दै मञ्जु बाहिरिएकी देउवा निवासमै रहेका एक प्रत्यक्षदर्शीले देशसञ्चारलाई बताए।
आफ्नो श्रीमानलाई फसाइएको तर अनुसन्धान गर्दै जाँदा अन्य नेताहरु उक्त प्रकरणमा मुछिने मञ्जुको भनाइ थियो।
जवाफमा देउवाले बालकृष्ण खाँणबारे चिन्ता नलिन भनेका थिए। ‘तपाईँहरु धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन। पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन, बिना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र?’ देउवाले मञ्जुलाई यसो भन्दै सम्झाउने प्रयास गरेका थिए।
स्रोतका अनुसार मञ्जु देउवासामु निकै आक्रोशित रुपमा प्रस्तुत भएकी थिइन् भने देउवाले उनलाई सम्झाउने प्रयास गरेका थिए। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेका खाँणविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित ठगी र राज्यविरुद्धको कसुर अभियोग लगाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ।
देउवाले भने ‘खाँणजी पैसामा बिक्ने खालको मान्छे होइन । उहाँ राष्ट्र र राष्ट्रियताप्रति एकदमै प्रतिवद्ध मान्छे हो’ भनेर मञ्जुलाई आश्वस्त पार्ने प्रयास गरेको स्रोतले बताएको छ।
नेत्री खाँणसँगको भेटपछि सभापति देउवाले मंगलबार दिउँसो पार्टीका नेता कार्यकर्ताहरुसँग छलफल गरेका थिए। उक्त भेटमा पनि बालकृष्ण खाँण पैसा खाने मान्छे नभएको देउवाले बताएको स्रोतको भनाइ छ।