स्टन्टबाजीमा पोखराका मेयरको एक वर्षः निर्णय गर्ने, कार्यान्वयनमा चुक्ने

पोखरा – भदौ २३ गते पोखरा महानगरपालिकाले महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी र पुस्तकालयमा डोजर चलायो। अवैध संरचना भत्काउने ट्रेलरस्वरुप महानगरले आफ्नै भवनमा डोजर चलाएपछि मेयर धनराज आचार्यले भनेका थिए, ‘…जो मापदण्डभन्दा बाहिरका छन् हामी भत्काउछौँ।’

धेरैले धनराजको डोजर एक्सनलाई बालेनको सिको भन्न भ्याए। त्यतिबेला काठमाडौँका मेयर बालेन शाह डोजर एक्सनमा थिए।

मेयर आचार्यले बोलेको ८ महिनापछि बल्ल भवन अभिलेखीकरण सुरु भएको छ। त्यसले पूर्णता पाउने नपाउने ठेगान नहुँदा मापदण्ड मिचेका संरचना भत्किनेमा महानगरवासी आश्वस्त छैनन् । मापदण्डविपरीत भवन अग्लिएका अग्लियै छन्।

असोज १ गते फेवातालको मापदण्डभित्रको अवैध संरचना हटाउन दलबलसहित पुगेर मेयर आचार्यको टिमले केही सामाग्री जफतसमेत गर्‍यो। जहाँबाट निर्माण सामाग्री जफत गरे त्यहाँ संरचना बनेर सञ्चालनमा आएको छ।

महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरी भत्काइँदै। तस्बिरः देशसञ्चार

१३ भदौमा सूचना प्रकाशित गर्दै भवनका अन्डरग्राउन्डलाई पार्किङकै रुपमा प्रयोगमा ल्याउन पोखरा महानगरले अनुरोध गर्‍यो। पार्किङ प्रयोजनका लागि नक्सा पास गराएर निर्माण भएका अन्डरग्राउन्डलाई पार्किङस्थलकै रुपमा प्रयोग गर्न घरधनीलाई महानगरले ३५ दिने समयावधि दिएको थियो।

दिएको म्याद सकिएपछि पनि घरधनीले अटेरी गरे। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डोजर एक्सनमा उत्रिए। दलबलसहित पुगेर आचार्यले केही भवनका अन्डरग्राउण्डमा डोजर चलाए पनि। सबै भवनका अन्डरग्राउन्ड खाली गराएर पार्किङ प्रायोजनमै ल्याउन उद्घोष गरेका उनी यो काममा पनि असफल ठहरिएका छन्। डोजर चलाएका भवनकै पनि अन्डरग्राउन्ड पार्किङमा प्रयोग भएको छैन।

निर्णय गरेको ९ महिनासम्म भवनको अन्डरग्राउन्ड खाली गराउन मेयर आचार्य नेतृत्वको पोखरा महानगरपालिकालाई सकस छ। एकाध भवनमा मात्रै डोजरले कोतरेर मेयर आचार्यले स्टन्टनबाजी देखाएको पोखरेली आरोप लगाउँछन्। पहुँचवालाको अन्डरग्राउन्ड खाली गराउन नसकेको गुनासो पनि उत्तिकै छ।

अन्डरग्राउन्ड खाली गराउन पोखरा महानगरपालिकाले डोजर चलाउँदै। तस्बिरः देशसञ्चार।

पोखरा महानगरपालिकाले माघ १६ गते सूचना निकाल्यो, ‘मुख्य सहरी क्षेत्रको सडकमा पार्किङ निषेध गर्ने।’ पोखरा महानगरपालिकाको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोक क्षेत्रका सडकमा सवारी चाप अत्याधिक वृद्धि हुँदा दुर्घटनाको जोखिम बढेको र सहरी सौन्दर्यकरणमासमेत असर परेकाले सडक पार्किङ निषेध गर्ने महानगरको निर्णय थियो।

यो निर्णयले त महानगर र मेयर आचार्यलाई निरीह सावित गर्‍यो। माघ २३ गतेदेखि लागू गर्ने निर्णयबाट कार्यान्वयनको एक दिन अगाडि स्थगित भयो। सडक पार्किङ निषेधित गर्ने भनिएको क्षेत्रका व्यवसायीले दिएको दबाब थेग्न नसकेका मेयर धनराज आचार्य सशुल्क पार्किङको उद्घाटन गर्दै रमाए। अहिले न सडकमा पार्किङ निषेध छ न त सशुल्क पार्किङ नै कार्यान्वयनमा देखिन्छ।

मेयर आचार्यले सुरु गरेको होटल तथा रेष्टुरेन्टमा सार्वजनिक शौचालय, बस्तीबाट कवाडी संकलन केन्द्र हटाउन दिएको निर्देशनले पनि पूर्णता पाएकै छैन। आचार्यले पटक पटक भाषणमा दोहोर्‍याउने पोखरामा पैसा तिरेर हेर्नलायक फोहोरमैला व्यवस्थापन केन्द्र बनाउँछु भन्ने भाषणमै सीमित छ। उनले भने जस्तो कहिले बन्छ आम पोखरेलीले भेउ पाएका छैनन्। महानगरले वडा नम्बर २३ लामेआहालमा सेती नदी किनारलाई अस्थायी ल्यान्डफिलसाइट बनाएको छ। त्यही ल्यान्डफिल साइट पनि महानगरको टाउको दुखाइ बनिरहेको छ।

मेथ्लाङबाट देखिएको पोखरा बजार। तस्बिरः विनोद ढुंगाना/देशसञ्चार

मेयर आचार्यले लोकप्रिय निर्णय गरेर काम सुरु गर्ने तर पूरा गर्न नसक्दा उनलाई स्टन्टबाजीको आरोप लाग्छ। स्टन्टनबाजीको आरापो उनी स्विकार्दैनन्। ‘मैले स्टन्टन कहीँ पनि गरेको छैन। एउटा पनि स्टन्ट गरेको छैन। त्यसरी बुझ्न हुँदैन’, उनले भने।

पार्किङ निषेधबाहेक सबै काम भएको उनको दाबी छ। पार्किङ व्यवस्थापनका सन्दर्भमा पोखरा उद्योग वाणिज्य संघको आग्रहलाई मानेको मेयर आचार्यले बताए। ‘अन्डरग्राउन्ड त सबैले सुरु गरेका छन्। त्यो त व्यक्तिको व्यैक्तिक कुरा हो नि। तर, त्यहाँ पसल त छैन। त्यहाँ तपाईंहरुले पार्किङकै रुपमा प्रयोग गर्दिनुस् भन्ने हाम्रो आग्रह हो।’ उनले भनेझै सबै अन्डरग्राउन्ड खाली भएको भने छैन।

सानोतिनो काममा पनि प्रकृया झन्झटिलो भएकाले ढिलाइ भएको उनले बताए। ‘म कर्पोरेट क्षेत्रबाट काम गरेर आएको मान्छे, आज आदेश दियो भने भोलिपर्सिबाट काम हुन्छ भन्ने बुझाइ थियो। हाम्रो सरकारी संयन्त्रमा खरिद प्रक्रियादेखि थुप्रै कुराको लामो प्रक्रिया पनि रहेछ। केही त्यस्ता कारण पनि छन्, जुन हाम्रो बसमा छैनन्’, उनले भने।

मेयर अचार्यले पहिलो वर्षलाई आधार वर्षको रुपमा लिएका छन्। ‘आधारभूत कामहरु सुरु गरेका छौँ। जस्तो सुशासनका लागि भनौँ न हामीले पब्लिकको कामहरुलाई दैनिन्दिन डेलिभरी दिने कुरालाई वानडोर सिस्टम बनायौँ’, उनले भने, ‘अहिले कुनै पनि महाशाखामा हाम्रो काम रोकियो। लामो समयसम्म काम भएन भन्ने कुरा छैन।’

यो एक वर्षको अवधिमा पोखराका मेयर धनराज आचार्यले काठमाडौँको मेयर बालेन शाहको नक्कल गर्न खोजेजस्तो देखिने मेयरका प्रतिस्पर्धी एमाले नेता कृष्ण थापा बताउँछन्। ‘यसो हेर्दा कताकता बालेनको केही नक्कल गर्न खोजेजस्तो देखिन्छ। बालेनसँग सहास छ अदम्य इच्छाशक्ति छ। तर, उहासँग (मेयर धनराज आचार्य) छैन’, उनी भन्छन्, ‘केही नक्कल गर्न खोज्नुहुन्छ। नक्कल गर्न खोज्या कुरा मिल्दैन।’

पूर्व मेयर थापाको सुझावमा एक वर्षभित्र आचार्यले कम्तिमा पोखरालाई कस्तो बनाउने खाका कोर्नुपर्ने थियो। ‘यो कार्यकालमा जे काम हुनुपर्ने थियो खासै भएन भनेर आम पब्लिकले गुनासो गर्नुहुन्छ’, उनले सुनाए। वर्षदिन पोखरा महानगरपालिकाको उपलब्धिविहिन भएको थापाले आरोप लगाए।

अभियन्ता गनेस पौडेल धनराज आचार्यको एक वर्षे कार्यकाललाई गुजरावादीको संज्ञा दिन्छन्। ‘पहिला जसरी चल्थ्यो त्यसरी नै चल्नेबाहेक अरु केही पनि छैन। नयाँ रचनात्मक काम भन्ने पनि केही छैन’, मेयरका प्रतिस्पर्धीसमेत रहेका पौडेल भन्छन्, ‘भित्री बाटाहरु ढलान गर्ने, बजेट सक्नेबाहेक मुलभूत रुपमा यहाँका अतिक्रमित जग्गाहरुको विषयमा, खोला अतिक्रमण विषयमा, अवैध क्रसरहरु रातदिन चलिरहेका छन्, त्यसका विषयलगायत धेरै काम गर्न सकिन्थ्यो।’

दीर्घकालीन प्रभाव पर्ने भन्दा मैले गरेँ भन्नका लागि मात्र काम गरेको उनको भनाइ छ। उनले भने, ‘ठाउँ ठाउँमा लाइट हाल्ने। जे भए पनि न्यूरोडमा लगेर खन्याउने। पोखरा भनेकै न्युरोडजस्तो भो’, उनको आरोप छ। महानगरको विकास वडा वडामा पुग्न नसकेको उनको तर्क छ।

मेयर आचार्यले निर्णय गरेका लोकप्रिय तर पूरा नभएका कामलाई सुरुमा पोखरेलीले प्रसंशासमेत गरे। तर, कार्यन्वयन पूर्ण रुपमा नहुँदा नागरिक खिन्न छन्। नागरिक समाजका पूर्व संयोजक विष्णुहरि अधिकारी अध्ययन नगरी काम गर्न खोज्दा धनराज आचार्य पछाडि हट्नु परेको बताउँछन्।

‘काम गर्नभन्दा पहिले अध्ययन गर्नपर्ने हुन्छ। त्यो पनि उहाँले सायद नगरेर हो कि। आफैंले थालेका कामहरु बीचमै ब्याक हुनपरेका। केही पोखरेली जनताले राम्रै ठान्दाठान्दै पनि यो काम त ठीक हो क्या हो भन्दा भन्दै पनि ब्याक हुनुभएको छ’, उनले भने। यसरी नै काम थालेर टुंगोमा पुर्‍याउन नसके आचार्यको ५ वर्षे कार्यकाल सफल नहुनेको उनको विश्लेषण छ।

एकीकृत समाजवादी पार्टीबाट पोखरा महानगरपालिकामा आचार्य एक्लै भएकाले पनि काम गर्ने शिलशिलामा बाधा आएको हुन सक्ने अधिकारीको अनुमान छ।

एक वर्षमा मेयर अचार्याले कामै नगरेका भने होइनन्। जनताको गुनासो सुन्न हेलो मेयर कार्यक्रम सञ्चालनमा ल्याएका छन्। सेवाग्राहीलाई एकैथलोबाट सेवा दिन सुरुआत गरिएको एकद्वार प्रणालीलाई पोखरेलीले रुचाएका छन्।

कला सँस्कृतिसँग जोडिएका कार्यक्रममा पनि मेयर आचार्य निर्वाचित भएर आएपछि पोखरा महानगरपालिकाले अभिभावकीय भूमिका निभाइरहेको छ। दातृ निकायसँग सहयोग जुटाउन मेयर आचार्यको दौडधुप निकै छ। एक वर्षमा २३ अर्बको आयोजना पोखरा भित्र्याएको मेयर आचार्य दाबी गर्छन्।

निवर्तमान मेयर मानबहादुर जिसीको कार्यकाल सकिन २ दिन पहिलेमात्रै २५ वर्षका लागि निकै सस्तोमा लगाएको ६३ रोपनी जग्गा मेयर आचार्यले महानगरमै फिर्ता गराए। सुरुमा उनले गरेको यो काम वाहवाही कमाए। सडकमा हाइमास्ट जडानको काम उनी आएपछि भइरहेको छ।

नगरवासीलाई सीपमूलक तालिम दिन उनी सफल छन्। पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। दीर्घकालसम्म प्रभाव पार्ने योजना सञ्चालन र नीति बनाउन भने उनले सकिरहेका छैनन्।

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्