सञ्चालनमा आयो सम्पदा बस

काठमाडौँ – मंगलबारबाट सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ। काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित मंगलबारबाट सम्पदा यात्रा बस सेवा ‘हप अन हप अफ बस’ सञ्चालनमा आएको हो।

ललितपुरको पुलचोकमा एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गरे। बस सेवा शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्क रुपमा सञ्चालन गरिने जानकारी दिए।

उनले सानो काम भए पनि सरकारले ठूलो मेहनत गर्नुपरेको बताए। मन्त्री किराँतीले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्ने लामो समयदेखि भनिए पनि भाडा समायोजनको काम अझै नसकिएको बताए। उनले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता र चेतना अगाडि गए पनि ऐन र कानून धेरै पछि रहेको बताए।

उनले बस भाडा समायोजन प्रदेश सरकारले गर्ने प्रावधान भए पनि सम्पदा यात्रा बस सेवा सञ्चालनको लागि भाडा निर्धारण गर्न प्रदेशसँग ऐन कानून नभएका कारण अफ्ठ्यारो परेको बताए।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदुषणमुक्त शहर बनाउने प्रयासअन्तर्गत महानगरपालिकाले अब उपरान्त कुनै पनि गाडी खरिद् गर्दा विद्युतीय मात्रै हुने घोषणा गरेको जानकारी दिए। उनले गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने महानगरको घोषणाबमोजिम आफूले चढ्ने गाडी पनि विद्युतीय नै भएको बताए।

सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालन हुने भएको छ। त्यस्तै, बस सेवा तत्काका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ।

परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको बस सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ।

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्