नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी(जसपा)बाट बनेका दुई मन्त्रीको शपथ आज रहेको छ।

मंगलबार वन तथा वातावरण मन्त्री बनेका वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको हो। सरकारले जसपालाई सरकारमा सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरिएको हो।

राष्ट्रपति कार्यालयले बिहान ९:५० मा शपथग्रहणको कार्यक्रम तय भएको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउने कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कामु प्रधानन्यायाधीशलगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँग मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

पछिल्लो पटकसहित प्रधानमन्त्री प्रचण्डले ६ महिनामा ११औँ पटक मन्त्रीपरिषद् विस्तार गरेका हुन्।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्