कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

फाइल तस्बिर।

कर्णाली – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरू हुने भएको छ। पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो।

कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो।

सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ः०० बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गरेका हुन्।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ।

प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम सबै सभा सदस्यलाई आजको बैठकका लागि जानकारी गराइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्