सुनौलो हजार दिनका आमाहरूलाई बाख्रा र खरायो

सिमकोट- सुनौलो हजार दिनका आमाहरूलाई बाख्रा र खरायो वितरण गरिएको छ। नवजात शिशु तथा आमाको पोषणमा सुधार ल्याउन बाख्रा र खरायो वितरण गरिएको हो।

खार्पुनाथ गाउँपालिका- ५ की कुशुमा शाहीले नि:शुल्क बाख्रा पाएको बताउँदै यसबाट नवजात शिशु तथा आमाको पोषणमा सुधार ल्याउन सहयोग पुग्ने बताइन्।

उनले न्यून आय भएका आमाहरूलाई यस्तो सहयोग महत्त्वपूर्ण भएको बताउँदै यसको सही रूपमा सदुपयोग गर्ने पनि बताइन्।

वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतजंग शाहीले वडाभरिका न्यून आयस्रोत भएका सुनौलो हजार दिनका २५ जना आमाहरूलाई एक-एक वटा बाख्रा र गाउँपालिकाको पाँचवटै वडाका २५ जनालाई दुई-दुई वटा खरायो वितरण गरिएको जानकारी दिए।

उनले सहयोग थोरै भए पनि कुपोषणको शिकार भएको आमा तथा शिशुको पोषणमा सुधार ल्याउन यसबाट मद्दत पुग्ने विश्वस व्यक्त गरे।

उनको वडाले केही समय अगाडि पोषणमा सुधार ल्याउनकै लागि वडाका सबै घरधुरीलाई सात प्रकारका तरकारीका किटसमेत वितरण गरेको थियो।

गाउँपालिकामा लागू भएको बहुुक्षेत्रीय पोषण कार्यक्रमका सामाजिक परिचालक कासिराम जेठाराले गर्भवती हुँदादेखि सुत्केरी हुँदै एक हजार दिनसम्मका आमालाई सहयोग प्राप्त हुनु आमा र बच्चा दुवैको पोषणमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास गरिएको बताए।

कार्यक्रममा बाख्रा र खरायो खरिद गरेर वितरण गरिएका हुन्।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्