काभा भलिबल: भारतसँग भिड्दा सागमा गुमाएको स्वर्ण सम्झिन्छ नेपाल

२०१९ मा नेपाल भारतविरुद्ध ऐतिहासिक स्वर्ण नजिक पुगेको थियो। दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको नेपाली महिला भलिबल घरेलु कोर्टमा स्वर्णको कीर्तिमान नजिक पुगेर स्तब्ध बनेको थियो।
लगातार दुई सेट जितेर अर्को एक सेट जित्दै भारतविरुद्ध ऐतिहासिक जितसहित स्वर्ण चुम्न आतुर नेपाल त्यतिबेला स्तब्ध भयो, जब भारतले लगातार ३ सेट जित्दै उपाधि ३-२ ले आफ्नो पक्षमा पार्यो।
एक प्रकारले नेपाली खेलाडीहरू ऐतिहासिक जित उन्मुख थिए। तर अप्रत्यासित हारपछि नेपाली खेलाडीको आँखामा आँशु थामिएन। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा नै १२६८ दिनपछि भारतसँग नेपाल सोही फाइनलको बदला फरक प्रतियोगितामा लिने ध्याउनमा कोर्टमा उत्रिने छ।
नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज दिउँसो ३ बजे सुरु हुनेछ। दुवै टोली एक खेल बाँकी छँदै सेमिफानल पुगेकाले खेलमा जित निकाल्ने टिम समूह विजेताका रूपमा प्रतियोगिताको अन्तिम चारमा पुग्ने छ।
२०७६ मंसिर १७ गते सागको फाइनलमा एक अर्का विरुद्ध भिडेयता यी दुई टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। जारी प्रतियोगितामा तुलनात्मक रूपमा कमजोर बंगलादेश र किर्गिस्तानलाई पराजित गरेको नेपालले भारतसँगको खेलबाट आफ्नो वास्तविक क्षमतासमेत थाहा पाउने छ।
युवा र नयाँ खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीमा अनुभवी सरस्वती चौधरीसँगै कप्तान अरुणा शाही र सलिना श्रेष्ठको साथ रहेको छ। यो पटक मुख्य स्पाइकर प्रतिभा मालीलाई गुमाए पनि नेपालले उनको अभाव सुरुवाती दुई खेलमा गर्नु परेन।
यान डे ब्रान्टको प्रशिक्षणमा रहेको नेपाल समूह ‘ए’ मा रहेर भारत समान २ खेलबाट ६ अंक बनाएको छ। यो समूहमा किर्गिस्तान र बंगलादेशले अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिसकेका छन्। आज नै किर्गिस्तान र बंगलादेशले खेल्दै छन्।
१४ जेठसम्म चल्ने च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेका छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहँदा समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन्। दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन्।