झापा – झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको बर्ने चिया बगानमा रहेका तीनवटा गुलमोहरका रुखनेर बुधबार बिहान एउटा म्युजिक भिडियोको छायांकनको तयारी गरिराखिएको थियो। पूर्वका लोक गायक सन्तोष बिसीको गायनमा रहेको गीतको म्युजिक भिडियोको छायांकन त्यही रुखनेरबाट सुरु गर्ने योजना बनाइएको गायक बिसीले देश सञ्चारलाई जानकारी दिए।
उनले गुलमोहरका रुखका बारेमा सामाजिक सञ्जालमा देखेपछि त्यहीँबाट म्युजिक भिडियोको छायांकन सुरु गर्ने योजना बनाएको बताए। गायक बिसीले भने, ‘विशेषगरी टिकटकमा भाइरल यी रुखले हामीलाई पनि आकर्षित गर्यो। अनि हामी म्युजिक भिडियो छायांकनका लागि यहाँ आयौँ।’
मेची राजमार्गको डिलमै रहेका तीनवटा गुलमोहरका रुखले अहिले मानिसहरूको ध्यान तानिरहेको छ। ती रुख अहिले मात्र फुलेका होइनन्। ती तीनवटा रुख निकै पुराना रुख हुन्। पहिला मानिसहरूले खासै ध्यान दिएका थिएनन्। तर पछि सामाजिक सञ्जालले ती रुख र रुख भएका स्थान एकाएक भाइरल भए। टिकटक बनाउनकै लागि गुलमोहरका रुख भएका स्थानमा मानिसहरूको घुइँचो लाग्न थाल्यो ।
अहिले दैनिक करिब तीन हजार जनालाई तिनै भाइरल रुखले ‘पागल’ जस्तै बनाइरहेको छ। रुखनेर पुगेपछि खासगरी युवा जमात आफ्नै हर्कत गर्न थाल्छन्। उनीहरू नाच्छन्, अभिनय गर्छन् तथा पोज-पोजका फोटा खिच्छन्।
झापाका मात्र नभएर बर्नेमा अहिले इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ तथा सुनसरीका मानिसहरू दैनिक त्यहाँ आउने गरेका छन्। दिन घमाइलो हुँदा त बिहानैदेखि मानिसहरू घुइँचो लाग्ने गरेको छ। छेउमा पानी तथा विभिन्न खानेकुरा बेच्न बसेकी स्थानीयबासी यशाेदा पोखरेलले कहिलेकाहीँ त थेग्नै नसक्नेगरी मानिसहरू आउने गरेको बताइन्।
उनले भनिन्, ‘पहिला पनि थिए यी रुख। पहिला पनि फुल्ने नै गर्थे। तर अहिले टिकटकले मार्केट लिएकाले मानिसहरू यहाँ आउन थाले।’
राजमार्ग छेउमै मानिसहरूको भीड जम्मा हुने गरेकाले सवारी दुर्घटनाको जोखिम हुने भएकाले इलाका प्रहरी कार्यालय, बुधबारेले दैनिक प्रहरी खटाउने गरेको छ।
बुद्धशान्ति गाउँपालिकाले पनि त्यस्ता गुलमोहरका रुख धेरै रोप्ने योजना बनाएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बताए। गाउँपालिकाले अहिले रुख भएको स्थानमा केही भौतिक संरचना पनि निर्माण गरिरहेको छ ।
प्रसाईंले भने, ‘यो स्थानलाई अझ व्यवस्थित बनाउन हामी लागिपरेका छौँ। हामी अझै यस्ता रुख रोप्दैछौँ।’
हेर्नूहोस् तस्बिरहरू: