तत्काल सुविधा सम्पन्न पर्यटक बसपार्क निर्माण गर्न सरकारसँग एमाले सांसद विद्याको माग

फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेकी सांसद विद्या भट्टराईले काठमाडौँमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले देशका विभिन्न पर्यटकीय सहरहरूमा जाने पर्यटकहरूका लागि व्यवस्थित र सुविधासम्पन्न पर्यटक बसपार्क काठमाडौँमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरू काठमाडौँमा बसपार्क नभएका कारण असुरक्षित भइरहेकाले पनि सरकारले उनीहरूलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाइ गर्न नहुने स्पष्ट पारिन्।

उनले भनिन्, ‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने योजनाअनुरूप नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ। तर देशको राजधानी काठमाडौँमा आजसम्म टुरिष्ट बसपार्क स्थापना हुन सकेको छैन। व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौँको सोह्रखुट्टै सडकबाटै बस छुट्न बाध्य छन्। नेपाल प्रवेश गरेपछि देशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा जानका लागि पर्यटकहरू असुरक्षित भएर सडकमा उभिनुपर्ने बाध्यता छ। त्यसैले काठमाडौँमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिष्ट बसपार्क निर्माण गर्न आवश्यक छ। यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु।’

सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरे पनि त्यस अनुरूपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरिन्।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्