उच्च पदमा रहेकाहरूको सम्पत्ति छानविन हुनेगरी कानुन बनाउन सांसद विष्टको माग

तस्बिर: बर्षा शाह/देशसञ्चार।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरूको सम्पत्ति छानविन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले स्रोत नखुलेका वा कर नतिरेका सम्पत्तिहरू जफत हुने गरी उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानविन गर्न पनि सरकारलाई सचेत गराए।

सचिव विष्टले भ्रष्टाचार नियन्त्रणका लागि पनि उच्च ओहोदामा रहेकाहरुको स्रोत नखुलेको सम्पत्ति राज्यले जफ्त गर्नैपर्ने आवश्यक्ता औंल्याए। उनले भने, ‘भ्रष्टाचार नियन्त्रणको कुरा आएको छ। मैले सम्मानित सदन समक्ष राख्न चाहन्छु कि २०४६ साल पछाडि जति व्यक्तिहरू ओहोदामा आएका छन्। जति उच्च पदमा आएका छन्। ती सबै व्यक्तिहरूको छानविन गर्ने र स्रोत नदेखिने कर नतिरेको सम्पत्तिलाई जफत गर्नेगरी कानुन निर्माण गरियोस्। र, विशेष प्रकारको योजना बनाइयोस्। म यो प्रकारले आग्रह गर्न चाहन्छु।’

सचिव विष्टले सरकारको नीति तथा कार्यक्रम मुलुकको गम्भिरतालाई महशुस गरेर नआएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए। ‘यताबाट आऊ, उताबाट जाऊ’ भन्ने नेपाली उखान चरितार्थ हुने गरी सरकारको नीति तथा कार्यक्रम आएको उहाँको जिकीर थियो। सचिव विष्टले भन्नु भयो, ‘यो नीति, कार्यक्रम कस्तो छ भने एउटा नेपालीमा उखान छ-यताबाट आऊ, उताबाट जाऊ। दाँतले चपाऊ तर केही पनि नखाऊ। यही प्रकारको अवस्थामा नीति, कार्यक्रम आएको छ। त्यसकारण आजका गम्भिरताहरुलाई महशुस गरेर नीति, कार्यक्रमलाई अझ नयाँ ढंगले परिमार्जन गर्ने हिसावले सोचौँ।’

सचिव विष्टले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको आवश्यक्तालाई सम्बोधन गर्न नसक्ने दावी समेत गरे।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्