मूल दोषीलाई कारबाही गर्न माग गर्दै शान्ति समाजको ४६ वटा धर्ना प्रदर्शन सम्पन्न

काठमाडौँ- सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न तीनै तहको सरकारलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले विभिन्न कार्यक्रम आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाउने भएको छ।
लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको शान्ति समाजले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै आएको छ।
यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरूलाई कारबाही गर्न जोड दिँदै जेठ १ गतेदेखि शान्ति समाजले सुरु गरेको विशेष अभियानका क्रममा २२ जिल्लामा ४६ वटा धर्ना प्रदर्शन सम्पन्न भएको छ।
यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लेखिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीहरूलाई बुझाइएको छ।
३ बुँदे ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरूको सुक्ष्म अध्ययन/अनुसन्धान गरी दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही गर्न आग्रह गरिएको छ ।
साथै शान्ति समाजले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी आफ्नो २८ औँ स्थापना दिवस मनाउने भएको छ। २०५३ जेठ १९ गते मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो।