आइजी कुवँरलाई छानबिनमा सघाउन सांसद भट्टराईको आग्रह

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन्।
सचिव भट्टराईले प्रहरी महानिरीक्षक बसन्त कुँवरको पनि नाम सो प्रकरणमा जोडिएको उल्लेख गर्दै छानविनमा सहयोग गर्न आग्रह गरे।
बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उनले सो प्रकरणमा छानविन गर्नुपर्ने अवस्था नभए पत्रकार सम्मेलन गरेर भएपनि प्रहरी महानिरीक्षक कुँवरले स्पष्ट पार्नुपर्ने बताए।
सचिव भट्टराईले सो प्रकरणको छानविनलाई निष्पक्ष, पारदर्शी स्वतन्त्र ढंगले अघि बढाउन नेपाल सरकारलाई पनि सचेत गराए।
उनले भने, ‘हाम्रो पार्टीले नक्कली भुटाणी शरणार्थी केशमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न नेपाल सरकारलाई भनि सकेको छ। प्रधानमन्त्रीजीलाई भनेको छौं, गृहमन्त्रीजीलाई भनेका छौं । पुलिस प्रशासनलाई भनेका छौं । र, हाम्रो पार्टीको केन्द्रिय कमिटी बैठकले प्रस्ताव पास गरेर के भनेको छ भने हाम्रै पार्टीका पनि जोसुकै नेता परुन् । त्यसमा हामी छानविनका लागि सहयोग गर्न तयार छौं भनेर भनेका छौं । हाम्रो पार्टीसँग जोडिएका हुन, हाम्रो पार्टीका नेताहरुसँग जोडिएका हुन्। जोसुकै भएपनि यदि प्रहरीलाई उनीहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकाल्यो भने उनीहरुले गएर प्रहरीलाई छानविनका लागि सहयोग गर्नु पर्छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता भएको कसैले भने आफैँ प्रहरीकहाँ बयान दिन जाने बताए। ‘त्यसमा हामी पछाडि हटदैनौं । अध्यक्षका स्वकीय सचिव हुन कि मेरो स्वकीय सचिव हुन कि । म नै भएपनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ । तपाईको नाम आएको छ, के गरौं भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु । किनभने म नागरिक हो । नागरिकचाहिँ कानुनभन्दा माथि कोही पनि हुँदैन । कानुनभन्दा माथि हुने शासन त हामीले २०४७ सालमा फालिसकेको हो नि । त्यसपछि राजा ज्ञानेन्द्रले एक पटक कानुनभन्दा माथि हुन खोजेका थिए । उनलाई कानुनभन्दा माथि मान्दैनौ भनेर नारायणहिटीबाट नागार्जुन पठाएको होइनौ त ? कानुन भन्दामाथि को छ यो देशमा । कोही पनि छैन । त्यसकारण सबैमाथि छानविन हुन्छ । हुनु पर्छ । एमालेले पूरा साथ दिन्छ ।’
उनले बसन्त कुँवरलाई पनि आफूलाई लागेका आरोपबारे स्पष्ट पार्न भनेका छन्। ‘यदि तपाईको संलग्नता छैन भने तपाईँमाथि उठेका प्रश्न क्लियर गर्नुस् । त्यहाँ बयान दिन जान पर्ने अवस्था छैन भने पत्रकार सम्मेलन गरेर तपाईले प्रष्ट पार्नुस्,’ उनले भने।
सचिव भट्टराईले सो प्रकरणको छानविनमा नेपाल प्रहरीमाथि हस्तक्षेप गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।