अख्तियार प्रमुख प्रेम राईबिरुद्ध सानु भण्डारीले के दिएका थिए बयान?

काठमाडौँ – पर्याप्त प्रमाण नभेटिएको भन्दै तत्कालीन गृहसचिव एवं हालका अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छैन।
तर पक्राउ परेका र बुधबार जिल्ला अदालत काठमाडौँमा ठगी र संगठित अपराधमा मुद्दा दायर गरिएका सानु भण्डारीले भने राईलाई गृह मन्त्रालयमै नगद रकम दिएको दाबी गरेका छन्।
सार्वजनिक भएको अभियोग पत्रमा सानु भण्डारीले दिएको बयानमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईको निर्देशनमा राईको गाडीमा नगद राखिएको उल्लेख गरेका छन्। यसअघि नै देश सञ्चारले राईलाई नगद बुझाएको बयान भण्डारीले दिएको तथ्य सार्वजनिक गरेको थियो।
भण्डारीले आफ्नो बयानमा २०७६ भदौ १० गते सचिव राईको गाडीमा पैसा राखिदिएर कार्यकक्षमा भएको दाबी गरेका छन्।
भेटमा राईले काम हुन्छ भन्दै फर्काएको भण्डारीले आफ्नो बयानमा उल्लेख गरेका छन्। भण्डारीले बयानमा भनेका छन्, ‘उक्त रकम मैले मिति २०७६ सालको भाद्र महिनाको १० गते दिएको हुँ। मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यूको हो, उक्त रकम गाडीमा राखी दिनु भनी मलाई भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम रु. १,००,००,०००। (एक करोड) गाडीमा राख्न लगाई मलाई सचिव प्रेम कुमार राईको कार्य कक्षमा बोलाएको हुँदा म निजको कार्य कक्षमा गएको र अब तपाईहरुको काम हुन्छ तपाई जानु भनी प्रेम कुमार राईले मलाई भनेकोले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ।’
भण्डारीले आफ्नो बयानमा टोपबहादुर रायमाझीलाई घरमै पुगेर एक करोड ६० लाख र उनका छोरा सन्दिपलाई ४० लाख दिएको उल्लेख गरेका छन्।
त्यस्तै तत्कालीन गृहमन्त्री बादलकी श्रीमती नैनकाललाई पुल्चोकस्थित मन्त्री क्वाटरमा पुगेर एक जना प्रहरीको उपस्थितिमा एक करोड दिएको बताएका छन्।
उनले बयानमा भनेका छन्, ‘मैले मिति २०७६ सालको श्रावण महिनाको २५ गते मन्त्री क्वाटर पुल्चोकमा गई नैनाकला थापालाई नगदै रु१,००,००,०००।(एक करोड) बुझाएको हुँ। सो बेलामा ईन्द्रजित राईका चालक खटिएका प्रहरीका व्यक्ति पनि साथै थिए।’