सङ्घीय संसद्को संयुक्त बैठकमा कार्यसञ्चालन नियमावली मस्यौदा पेस

काठमाडौँ–सङ्घीय संसद्को बुधबारको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

त्यसअघि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए।

सांसदहरूको जिज्ञासामाथि मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले जवाफ दिएका थिए।

सो नियमावली यही जेठ १४ गते पारित गर्ने तयारी गरिएको छ। सोही प्रयोजनका लागि जेठ १४ गते बिहान ११ बजेका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ।

प्रतिनिधिसभाले यही जेठ १ गते प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको समिति गठनका लागि प्रस्ताव पारित गरेको थियो।

नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधिसभाबाट १६ सदस्य रहेका थिए भने यही जेठ ५ गतेको राष्ट्रियसभाले तीन सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो।

सङ्घीय संसद्को संयुक्त समिति(कार्यसञ्चालन नियमावली, २०७५)लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम सुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो।

 

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्