स्ववियु दबाबमा क्याम्पस प्रमुखसहितले राजीनामा दिँदा शंकरदेवमा विद्यार्थीको भाइभा अनिश्चित

काठमाडौँ– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को दबाबका कारण शंकरदेव क्याम्पसका प्रमुखसहित चार जना पदाधिकारीले पदबाट राजीनामा दिएको खुलासा भएको छ।

क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले स्ववियुको दवावको कारण पदबाट राजीनामा दिएका छन्।

यद्यपि क्याम्पस प्रमुख तथा संकाय प्रमुखहरूले स्पष्ट कारण नखुलाई राजीनामा दिएका एक विद्यार्थी नेताले देशसञ्चारलाई जानकारी दिए। उनिहरुले राजीनामा दिएसँगै बीबीएस चौथो वर्षको विद्यार्थीको रिपोर्ट बुझाउने समयावधि जेठ ५ गतेसम्म र त्यसलगत्तै हुनुपर्ने भाइभा अनिश्चित बनेको छ।

गत बिहीबार क्याम्पस प्रमुख जोशीले राजीनामा दिएपछि भाइभा कहिले हुने भन्ने अनिश्चित भएको हो। त्यसपछि मंगलबारदेखि हुने भनिएको पढाइ समेत स्थगित भएको सूचना सार्वजनिक गरिएको थियो।

उक्त सूचना भने सहायक क्याम्पस प्रमुख मिखा श्रेष्ठले निकालेकी थिइन्। सूचनामा विशेष कारणवश अर्को सूचना प्रकाशित नभएसम्मका लागि कक्षाहरू स्थगन गरिएको उल्लेख छ।

बीबीएमका निर्देशक सहनिर्देशकसँग भने बीबीएम कप कार्यक्रम आयोजना गर्ने सन्दर्भमा मतभेद भएको क्याम्पसका एक विद्यार्थी बताउँछन्। सोही क्रममा स्ववियुले सह–निर्देशक केशर खातीलाई अपशब्द प्रयोग गरेको विद्यार्थीको भनाइ छ।

विजेता क्याम्पसले आयोजना गर्नुपर्ने व्यवस्था अनुसार शंकरदेव क्याम्पसले यस वर्ष बीबीएम कप कार्यक्रम आयोजना गर्नुपर्ने थियो। सोही क्रममा विभागले आयोजना गर्ने तयारी गरिरहेको बेला स्ववियुले हस्तक्षेप गरेर आयोजक बनेपछि समस्या देखिएको हो।

कार्यक्रम सम्पन्न गर्न भन्दै स्ववियूले २५ देखि ३० लाख रुपैया क्याम्पससँग माग गर्दा समस्या उत्पन्न भएको ती विद्यार्थीको भनाई छ।

सोही कारण निर्देशक तथा उपनिर्देशकले राजीनामा दिएको हुनसक्ने विद्यार्थीको भनाई छ। यद्यपि क्याम्पसप्रमुखसहित चारै जनाले राजीनामा दिनुको कारण भने खुलाएका छैनन्।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्