नगर प्रमुख भामद्वारा एकवर्षे कार्यकालको सार्वजनिक सुनुवाइ

सिमकोट – छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले आफ्नो एक वर्षे कार्यकालमा भएका विकास निर्माण तथा समृद्ध नगर निर्माणका लागि गरेको कामको सार्वजनिक सुनुवाइ गरेका छन्। विकासका लागि आफ्नो भूमिकाबारे नगरवासीबिच सार्वजनिक सुनुवाइ गरेका हुन्।

नगर प्रमुखले पाउने विभिन्न सरकारी सेवा–सुविधा आफूले उपभोग नगरी सिंगो नगरको विकास र नगरवासीको हितमा खर्चिने प्रतिबद्धता जाहेर गर्दै प्रमुख भामले निर्वाचनअगाडि घोषणा गरेका थिए।

यस विषयमा पनि उनले नगरका जनताअगाडि सार्वजनिक सुनुवाइ गरेका हुन्। विगतका समयमा विकास निर्माणलगायत स्थानीय स्तरमा हुने गरेका विभिन्न बेथिति अन्त्य गर्दै पारदर्शी र सुशासनको प्रत्याभूति दिन नगर प्रमुख भामको कार्यशैलीप्रति नगरवासीको धारणासमेत सो अवसरमा उनले बुुझे।

पाँच वर्षे कार्यकालभरिको आफूले पाउने पारिश्रमिकबाट एम्बुलेन्स खरिद गर्ने निर्वाचनताका प्रतिबद्धता जनाएका थिए। भामले आवास, सञ्चार, रासनजस्ता सरकारी सुविधा नलिएर आफ्नै घरबाट दैनिक आउने–जाने गर्दै आएका छन्।

विकास आयोजना मापडण्ड र गुणस्तर पूरा नगरी भुक्तानी गर्ने विगतको परम्परालई अन्त्य गर्न र नागरिकलाई श्रम गरेर खान प्रेरणा दिन आफैँ श्रममा खटिँदै आएका छन्।

सुन्दर र सफा नगर निर्माण गर्ने परिकल्पना गरेका उनले आफैँ फोहोर उठाएर नगरवासीलाई स्वावलम्बी बन्न सिकाउनुका साथै गमगढी बजारमा सार्वजनिक जग्गा र बाटो अतिक्रमण गरी बनाइएका घर टहरा हटाई सडक फराकिलो र सुन्दर बनाउन महत्वपूर्ण काम गर्न सफल भएका छन्।

नगर प्रमुख भामले आफ्नो एक वर्षे कार्यकालको मतदातालाई सुशासनको प्रत्याभूति गर्ने जनचासोको विषयमा सार्वजनिक सुनुवाइ साँच्चै स्वागतयोग्य काम हो। उनको सार्वजनिक सुनुुवाइ कार्यक्रममा प्रश्नसमेत उठ्न सकेन। उनी नगर प्रमुखमा निर्वाचित भएपछि कार्यभार सम्हाल्नुअघि देवताको घण्टी समातेर भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्ने भाकल गरेका थिए।

जनप्रतिनिधिले पनि यसको सिको गरुन् भन्दै कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापालगायतले आ आफ्नो धारणा राखेका थिए। अघिल्लो कार्यकाल वडाध्यक्ष भएर मतदाताको मन जितेका नगर प्रमुख विष्णुकुमार भामले हप्तामा शुक्रबार र शनिबार सरसफाइ र श्रमदानमा खटिन्छन् भने मंगलबार अनुगमन र बाँकी दिन जनताको सेवाका लागि नगरपालिकामा बसेर काम गर्दै आएका छन्।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्