नक्कली भुटानी शरणार्थी प्रकरणमा आइजी कुवँर मुछिएपछि प्रहरीले दियो प्रष्टीकरण

काठमाडौँ– भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको भूमिका शंकास्पद देखिएपछि नेपाल प्रहरीले यसबारे प्रष्टीकरण दिएको छ।
नेपाल प्रहरीले भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ। कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला ठगी प्रकरणमा पहिलोपटक उजुरी आउँदा अनुसन्धान अगाडि नबढाई उजुरीसँग सम्बन्धित फाइल नै आफ्नो घर लगेर थन्क्याएको अनुसन्धानका क्रममा खुलेको छ।
यसमा कुँवरको संलग्नता नरहेको प्रहरीले बुधबार एक विज्ञप्ति जारी गरेर प्रष्टीकरण दिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बुधबार विज्ञप्ति जारी गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको भन्दै आरोपको खण्डन गरेका छन्।
‘कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी सङ्गठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको छ’, प्रवक्ता कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रहरीले कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय भएको बताएको छ।
प्रवक्ता कडायतले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पितरूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु सङ्गठनकै लागि अत्यन्त दुःखद् रहेको बताएका छन्।
‘नेपाल प्रहरी सदैव संविधान, कानून र सङ्गठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन्, निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिबद्ध छ’,विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले प्रहरी महानिरीक्षकले नक्कली भूटानी शरणार्थी प्रकरणमा आरोपीलाई जोगाउन भूमिका खेलेको भन्दै उनलाई निलम्बन गरी सत्यतथ्य छानविन गर्नुपर्छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
२०७८ पुस २३ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका एसएसपी चन्द्रकुवेर खापुङलाई प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागमा सरुवा गरेर कुँवरलाई अपराध अनुसन्धान कार्यालयको प्रमुखको रुपमा सरुवा गरिएको थियो।
कुवँरले जिम्मेवारी लिएको केही समयपछि २०७९ जेठ १८ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आफूहरुसँग पैसा उठाएर ठगी गरेको भन्दै केही पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए।