शरणार्थी प्रकरण : अनुसन्धानमा संलग्न प्रहरी र गृहमन्त्रीबीच भेट, मिडियाबाजी नगर्न निर्देशन

काठमाडौँ- नक्कली भुटानी शरणर्थी प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको उच्च पदस्थ व्यक्तिहरु र अनुसन्धानमा संलग्न प्रहरीसँग भेट गरेका छन्।
बुधबार गृहमन्त्री आफैँले प्रहरीलाई बोलाएर भेट गरेका हुन्। यस क्रममा प्रहरी महानिरीक्षक बसन्त कुँवर पनि उपस्थित थिए। प्रकरणमा बसन्त कुँवरको पनि नाम जोडिएको छ। प्रकरणमा संलग्न रहेको आधारमा पक्राउ परेकाहरुको मोबाइलमा एक अर्काबीच सामाजिक सञ्जालमा भएको कुराकानीका आधारमा कुँवर पनि संलग्न रहेको हुनसक्ने देखिएको छ। यद्यपि प्रहरी प्रधान कार्यालयले भने विज्ञप्ति निकालेर कुँवरको कुनै संलग्नता नरहेको बताएको छ।
भेटको क्रममा गृहमन्त्रीले यस प्रकरणलाई लिएर मिडियामा विभिन्न समाचारहरु आइरहेकाले त्यसबारे निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएका छन्। साथै मिडियाबाजी धेरै नगर्नसमेत भनेको गृहमन्त्रालय स्रोतले जनाएको छ।
शरणार्थी प्रकरणलाई लिएर अनुसन्धानमा खटिएका प्रहरीबीच नै दुई धार हुँदा एकअर्काबीच टकराव बढ्दै गएको बेला गृहमन्त्रीले भेट गरेका हुन्। स्रोतका अनुसार प्रकरणमा नाम जोडिएका सबै जनालाई अनुसन्धानको दायरामा ल्याउन पनि उनले निर्देशन दिएका छन्।
यता आरोपितहरुले दिएको बयानका आधारमा नाम पोलिएका र यस प्रकरणमा कुनै न कुनै रुपमा संलग्नता देखिएकामाथि फेरि अनुसन्धान हुने सरकारी वकिलको कार्यालयले जनाएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार प्रहरी प्रतिवेदनमा आधारित भएर आरोपितहरुलाई मुद्दा चलाउने निर्णय भएको हो। उनी भन्छन्, ‘कतिपय अवस्थामा थप अनुसन्धान अनिवार्य देखिएकाले प्रक्रिया अघि बढाउनु भनी निर्देशन भएको हो।’
बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको छ । उनीहरूविरुद्ध ठगी, सरकारी कागजात किर्ते, राष्ट्रहितविरुद्धको कसुर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थ व्यक्तिहरु पक्राउ परिसकेका छन्। उनीहरु विरुद्ध मुद्दा दर्तासमेत गरिएको छ। प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन्। केही अझै फरार छन्।