ढाकासँग रकम मागेको कुरा पुष्टि गरे हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ: प्रवक्ता ढकाल

फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको कुरा कसैले पुष्टि गरेमा जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

श्रेष्ठले सांसद बनाउँदा पार्टीका प्रवक्ता ढकाल र उपसभापति ड‍िपी अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएको आरोप लगाएका छन्।

सोही कुरालाई पुष्टि गरे जस्तोसुकै सजाय भोग्न तयार रहेको प्रवक्ता ढकालले बताएका हुन्।

प्रवक्ता ढकालले ढाकाविरुद्ध अदालतमा मानहानीको मुद्दा हाल्ने पनि बताएका छन्।

उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्ने र अदालतले क्षतिपूर्ति दिलाए त्यो रकम रास्कोट अस्पताललाई सहयोगार्थ दिने पनि बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ। यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ। आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावी गरी मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ।’

ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि उनलाई रास्वपाले  निलम्बन गरेको थियो।

जेठ ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्