ढाकाकुमारको सांसद पद फर्काउने प्रयास विफल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद फर्काउने प्रयास विफल भएको छ।
सर्वोच्च अदालतले श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश खारेज गरिदिएसँगै सांसद पद फर्काउने प्रयास विफल भएको हो।
न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो।
मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो। पार्टीले श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारवाही गरेको हो।
श्रेष्ठ समानुपातिक सांसद थिए। सांसद पद गुमाएसँगै उनी सर्वोच्च पुगेका थिए।
रास्वपाले श्रेष्ठको ठाउँमा एसिडपीडित बिन्दावासिनी कंसाकारलाई सांसद नियुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको थियो।
आयोगले कंसाकारलाई सांसद मनोनयन गरेपनि अल्पकालीन अन्तरिम आदेशका कारण उनको शपथ रोकिएकाे थियाे। सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै कंसाकारको शपथ ग्रहणको बाटो खुलेकाे छ।
हेटौँडाकी विन्दबासिनी कंसाकार पेशाले बैंकर हुन्। कुमारी बैंकमा कार्यरत कंसाकार तेजाब आक्रमण पीडित पनि हुन्। विसं २०७० सालमा उनी प्लस टु पढ्दै गर्दा तेजाब आक्रमणमा परेकी थिइन्। भारतीय नागरिक कमलराज केंसारले तेजाब आक्रमण गरेका थिए।