आँखासँगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ दाङ

लमही- नेपाल नेत्रज्योति संघ, दाङले लमहीमा आँखासँगै कान उपचारको सेवा सञ्चालन गर्ने प्रयासमा जुटेको छ।

लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक अधिकृत शम्शेर थापाले जानकारी दिए।

लमही नगरपालिका-५ रातोडाँडा स्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी समस्याका बिरामीलाई सेवा दिने प्रयासमा नेत्रज्योति संघ रहेको उनले बताए।

प्रशासक अधिकृत थापाले भवन निर्माणसँगै कानसम्बन्धी विशेषज्ञ सेवा दिन सके देउखुरीसँगै जिल्लाका कानसँग सम्बन्धित बिरामीले सेवा लिन पाउने बताए। त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनकाे भनाइ छ।

प्रशासक अधिकृत थापाले जग्गा प्राप्त भए पनि लमहीका नगरका अघिल्लो जनप्रतिनिधि र प्रमुख प्रशासक कारण अस्पताल निर्माणमा ढिलाइ भएको बताए।

‘लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा कान उपचारका लागि अस्पताल निर्माण गर्ने कुरा थियो तर प्राविधिक कारण जग्गा आउन नसक्दा समस्या भएको छ’, उनले भने, ‘अहिले फेरि अर्को ठाउँमा जग्गा उपलब्ध गराउने कुरा छ। उक्त जग्गामा भवन निर्माण गरेर कानसम्बन्धी सेवा दिने तयारीमा छौँ।’

नेपालमा एक लाख ३० हजार व्यक्ति दृष्टिविहीन रहेका छन् जसमध्ये ३० हजार २ सय ४० जना बच्चाहरू दृष्टिविहीन छन् भने ९० हजार बच्चाहरूमा न्यून दृष्टिविहीनको समस्या रहेको छ।

प्रशासक अधिकृत थापाले आर्थिक बर्ष २००८०,८१ को लागि साझेदारी कार्यक्रमका योजना, यस आर्थिक वर्षमा गढवा,राजपुर, लमही नगरपालिका र वडाहरूले गरेका साझेदारी कार्यक्रम र सहयोगको बारेमा जानकारी गराएका थिए।

जेठ ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्