प्रदेश नामाकरणको विरोधका क्रममा घाइते भएकाको उपचारखर्च सरकारले व्यहोर्न माग

फाइल तस्बिर।

काठमाडौँ – नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेश नामाकरणको विरोधका क्रममा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्न माग राखेको छ।

कोशी प्रदेश नामाकरणको विरोध गर्दै गत वैशाख २६ गते झापाको दमकमा प्रदर्शनका क्रममा गोली लागि घाइते भएका इलाम चुलाचुली- १ का गजेन्द्र फागो र झापा अर्जुनधार- १ की निर्मला क्षेत्री लिम्बूलगायत घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्न पार्टीले माग राखेको हो।

साथै, नामाकरणको सम्बन्धमा विरोध गर्दा शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लङ्घन नहुने गरी विरोधका कार्यक्रमहरू गर्न कांग्रेस कोशी प्रदेश समितिका सभापति तथा संसदीय दलका नेता उद्धव थापाद्वारा जारी गरेको विज्ञप्तिमार्फत ‘प्रदेश १ नामाङ्कन संघर्ष समिति’लाई आग्रह गरिएको छ।

प्रदेश नामाकरणको विषयमा विरोध जनाउँदै ‘प्रदेश १ नामाङ्कन संघर्ष समिति’ गठन भएको छ। जसले लामो समयदेखि विभिन्न विरोध तथा प्रदर्शनका कार्यक्रमहरू गर्दै आएको छ।

सोही क्रममा मोरङको बेलबारी- २ लालभित्तिका पदमबहादुर लिम्बू लाजेहाङको आन्दोलनकै क्रममा घाइते भइ उपचारका क्रममा गत चैत्र १० गते निधन भएको थियो।

यस्तो छ विज्ञप्ति:

जेठ ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्