गणतन्त्रको विकल्प गणतन्त्रभित्रै सम्भव छ: मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन्।

गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्विर प्रदर्शनीको बिहीबार उद्घाटन गर्दै गणतन्त्रमा केही कमीकमजोरी भए पनि पछाडि फर्किन नसकिने बताइन्।

‘अब पछाडि फर्किने कुरा हुन सक्दैन, गणतन्त्र आएपछि भ्रष्टाचारलगायत विभिन्न विकृति आएको छ, गणतन्त्रभन्दा हिजोकै ठीक भन्ने विचार पनि आउनसक्छ, तर विषय त्यस्तो होइन। गणतन्त्रको विकल्प गणतन्त्रभित्रै सम्भव छ’, उनले भनिन्।

वर्तमान शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुख्य उपलब्धीलाई संस्थागत गर्नुको विकल्प नहुने मन्त्री शर्माको भनाइ छ।

सरकारका प्रवक्ता शर्माले भनिन्, ‘गणतन्त्र दिवस मनाउने अवस्थामा हामी कसरी आइपुग्यौँ ?, २००७ सालदेखि यहाँसम्म आइपुग्दा कस्ता–कस्ता आन्दोलन भए, के-कति त्याग, बलिदान भए यी सबै विभिन्न खालका संघर्षलाई पनि हामीले भुल्नु हुँदैन।’

गणतन्त्र सजिलै प्राप्त नभएको भन्दै उनले गणतन्त्र प्राप्तिअघि अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता नभएको अवस्था सम्झिँदै अग्रजहरूले गणतन्त्रका निम्ति गरेको कठिन संघर्ष बिर्सिन नहुनेमा जोड दिइन्।

प्रवक्ता शर्माले गणतन्त्र प्राप्तिका निम्ति महिला, आदिवासी जनजाति, मधेसी, दलित र उत्पीडितलगायत सम्पूर्ण सिमान्तकृत समुदायले गरेको योगदानको कदर गरिन्।

सरकारले यसपटकको गणतन्त्र दिवस विगतकोभन्दा फरक ढंगले समीक्षासहित तीन दिनसम्म मनाउने योजना रहेको बताइन्।

गणतन्त्रमा भएका कमीकमजोरीलाई आधार बनाएर अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रतासँग जोडिएको गणतान्त्रिक व्यवस्थामाथि चारैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उनले टिप्पणी गरिन्।

गणतन्त्र प्राप्तिका लागि आमनागरिकका सपना र अपेक्षा, गणतन्त्रपछि सरकार सञ्चालन गर्ने क्रममा निर्माण गरेको भूमिका र ती भूमिकामा भएका कमीकमजोरीलाई लिएर र त्यसमाथि हुने गरेका गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले गणतन्त्र सबैको सम्मान, सहअस्थितत्व र प्रक्रियासँग जोडिएको बताए।

अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएको तस्बिरमार्फत् देशको सामाजिक र सांस्कृति परिवेश उजागर गर्न खोजेको प्रष्ट पारे।

राससका महाप्रबन्धक सिद्धराज राईले राससले आफ्नो सेवालाई राष्ट्रिय भाषासहित २४ सैँ घण्टा सेवा सञ्चालन गर्ने योजना सुनाए।

प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ। प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएको छ।

राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त-अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएको छ।

मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवं धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्बिर प्रदर्शनीले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहमा तस्बिर प्रदर्शनी गर्दै आएको छ।

मन्त्री शर्माले प्रर्दशनीको अवलोकन गरेकी थिइन्। राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामासेमत वृद्धि गर्ने क्रममा साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ।

विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ।

जेठ ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्