जो शरणार्थी प्रकरणमा जोडिएर पनि पक्राउ परेनन् (सूचीसहित)

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका हालसम्म १६ जना पक्राउ परिसकेका छन् भने केही अझै फरार छन्।
प्रकरणमा विभिन्न रुपमा संलग्नता देखिएको र पक्राउ परेकाहरुको बयानको आधारमा नाम पोलिएका केही व्यक्तिहरु विरुद्ध प्रहरीले अझै अनुसन्धान गरेको छैन। बयानकै आधारमा नाम पोलिएका कोहीलाई पक्राउ गरेको तर कोहीलाई पक्राउ त के, अनुसन्धानको दायरामा समेत नल्याएको भन्दै नेपाल प्रहरीको आलोचनासमेत भइरहेको छ।
प्रहरीले हालसम्म प्रकरणमा संलग्नता देखिएका उच्च पदस्थ व्यक्तिहरुसहित १६ जनालाई पक्राउ गरेर मुद्दा दर्ता गरिसकेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थ व्यक्तिहरु पक्राउ परिसकेका छन्।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, मुख्य योजनाकार मानिएका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा लगायत पनि पक्राउ परिसकेका छन्।
यस प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं सांसद आरजु देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती एवं सांसद मञ्जु खाँणको नामसमेत जोडिएको छ। यद्यपि उनीहरुलाई अनुसन्धान दायराभन्दा बाहिर राखिएको छ।
त्यस्तै, सानु भण्डारीले इन्द्रजित राईले अह्राएअनुसार तत्कालीन गृहसचिव प्रेम राईको गाडीमा १ करोड रुपैयाँ राखेको बयान दिएका छन्। उनीबिरुद्ध पनि कुनै मुद्दा दर्ता भएको छैन। प्रहरीले यस प्रकरणमा उनको संलग्नता देखिएकोबारे कुनै अनुसन्धान नै अघि बढाएको छैन।
यी हुन् नाम जोडिएर पनि पक्राउ नपरेकाहरु:
१. तत्कालीन गृहसचिव एवं हालका अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई
२. पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती एवं सांसद मञ्जु खाFण
३. पूर्वगृहमन्त्री रामबहादुर थापा बादल
४. बादलकी श्रीमती नैनकला थापा
५. पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य
६. पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य
७. विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित
८. शेरबहादुर देउवाकी श्रीमती एवं सांसद आरजु देउवा
९. पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक
१०. केशव तुलाधर
११. लक्ष्मी महर्जन
१२. हरिभक्त महर्वज
१४. अशोक पोखरेल
१५. धिरेन राई
१६. दीपा हुमागाईं
१७. इन्द्रजित राईका छोरा निरज राई
१८. राजेश अर्याल
१९. मोहनराज राई
२०. आशिष बुढाथोकी
२१. बिनिता सावदेन लिम्बू
२२. निरन्जनकुमार खरेल
२३. सुनिल बुढाथोकी
उल्लेखित नामहरुमध्ये १४ जनालाई प्रहरीले फरार सूचीमा राखेको छ भने अन्यको पनि कुनै न कुनै रुपमा संलग्नता देखिएको खुलेको छ। प्रहरीले पहिलो चरण अन्तर्गत ३० जना प्रतिवादी विरुद्ध अभियोग पत्र दर्ता गराएको छ।
आरोपितहरुले दिएको बयानका आधारमा नाम पोलिएका र यस प्रकरणमा कुनै न कुनै रुपमा संलग्नता देखिएकाहरुमाथि फेरि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अनुमति दिइसकेको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनमा आधारित भएर आरोपितहरुलाई मुद्दा चलाउने निर्णय गरेसँगै अब नाम जोडिएका अन्यको संलग्नताबारे पनि अनुसन्धान हुने बताइएको छ।