घर दैलोको स्वास्थ्यकर्मी पुुग्दा बिरामीलाई उपचारमा सहज

सिमकोट – स्वास्थ्यकर्मीहरू उपचारका लागि घर दैलोमै पुुग्दा बिरामीलाई उपचारमा सहज हुँदै गएको छ। वडा वडामा स्वास्थ्य संस्था स्थापना भए पनि एउटै वडाका बस्ती टाढा टाढा पर्ने भएकाले बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरू घरघरमा जान थालेपछि बिरामीलाई सहज भएको हो।

ताँजाकोट गाउँपालिका–१ को काँडा गाउँका बिरामी जानकी खड्काले उपचारका लागि स्वास्थ्यकर्मी औषधिसहित घरघरमा आउँदा आफूलाई उपचारमा सहज भएको बताइन्। दमकी बिरामी उनले एक घण्टा टाढाको स्वास्थ्य संस्थामा आफू चेकजाँच र औषधि लिन जाँदा समस्या हुने गरेको बताउँदै अहिले भने सजिलो भएको सुनाइन्।

यसअघि उनी एक घण्टा जान र एक घण्टा घर फर्कन समय लगाएर स्वास्थ्य संस्थामा पुुग्ने गर्थिन्। स्वास्थ्यकर्मीले उनलाई तीन महिनाका लागि पुग्ने औषधिसमेत उपलब्ध गराइदिएका छन्।

उनले अब उपचारका लागि ढुक्क भएको जनाइन्। उक्त गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बिरामीको सहजताका लागि घरदैलो अभियान सञ्चालन गरिएको बताउँदै यसबाट विशेष गरी ज्येष्ठ नागरिक बिरामी, अपांगता, अशक्त, बालबालिका, गर्भवती र दीर्घ रोगका बिरामीलाई उपचार सहज भएको बताए।

शाखाले आयोजना गरेको घरदैलो अभियानमा गाउँपालिकाका पाँच वटै वडाका यस्तै प्रकृतिका २५० जना बिरामी लाभान्वित भएका थिए।

यता, खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले विशेष प्राथमिकतामा राखेर घरदैलो उपचार सेवा कार्यक्रम राख्दा लक्षित बिरामी निकै हर्षित भएको बताए। खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले यो कार्यक्रम राख्दा ५३५ जना बिरामीले उपचार पाएका थिए।

खास खास उमेर समूह, प्रकृतिका बिरामीलाई वर्षमा दुुई पटक उपचार गर्ने गरिए पनि अब यसलाई मासिक रुपमा गर्ने गरी कार्यतालिका तय गर्न लागिएको छ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले सबै खाले बिरामीका लागि घरदैलो उपचार सेवा प्रभावकारी देखिएको र यसबाट कोही पनि बिरामी उपचार सेवाबाट नछुुट्ने बताए।

यो कार्यक्रम जिल्लाका सात वटै गाउँपालिकाले सञ्चालन गर्ने गरेको र यसबाट वर्षभरि पाँच हजार ४ सय ५३ भन्दा बढी बिरामी प्रत्यक्ष लाभान्वित भएको विवरण प्राप्त भएको छ।

जेठ ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्