लगातारको बराबरीले मनाङलाई रेलिगेशनको डर

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइजसँग बिहीबार पनि मनाङ बराबरीमा रोकियो। च्यासल मैदानमा गोलरहित बराबरी खेलेको मनाङको यो लगातार सातौं बराबरी हो भने समग्रमा दशौं बराबरी हो।
लिगमा मनाङले २१ खेल खेल्दा ५ जित र ६ हार भोगेको छ। पछिल्लो अवस्थाले ८ पटकको च्याम्पियन मनाङको वर्तमान अवस्था बुझ्न पर्याप्त हुन्छ। मनाङले सम्भावित हार त टारेको छ तर लगातारको एक अङ्कले उसको रेलिगेशन डर बढाएको छ।
जारी लिगमा उपाधि होड र रेलिगेशनको रोमाञ्चक्ता उत्कर्षमा छ। तर लिगमा सर्वाधिक सफल टोली मनाङमाथि दबाब निरन्तर छ। सुरुवातमा लगातारको जित अनि हार र पछिल्लो समय लगातारको बराबरीले मनाङको जारी सिजनको अस्थिर प्रदर्शको प्रतिनिधित्व गर्छ।
उपाधि होडबाट निकै टाढा पुगेको मनाङलाई अब खेलमा फर्कन सीमित खेलमा जित अत्यावश्यक बन्दै गएको छ। तर खेलमा फर्कन मनाङलाई यही फर्मले सहज देखिरहेको छैन।
त्यसो त शीर्ष स्थानको चर्च ब्वाइजलाई पनि बिहीबार अग्रता बढाउने राम्रो अवसर थियो। तर, प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टिमले गोलका मौका सदुपयोग गर्न असफल हुँदा अङ्क बाँडे। चर्च ब्वाइजले अङ्क बाँड्दा उपाधि होडमा पनि रोचक प्रतिस्पर्धा अन्त्यसम्म लम्बिने पक्का देखिएको छ।
बराबरीपछि चर्च ब्वाइजको २१ खेलबाट ३८ अङ्क सहित शीर्ष स्थानमा कायम छ। मनाङ भने २१ खेलबाट २५ अङ्कका साथ रेलिगेशन क्षेत्रभन्दा २ स्थान माथि मात्र रहेको छ। मनाङले गत २० वैशाखमा नेपाल आर्मीलाई १–० ले पराजित गरेयता लगातार ७ खेलमा बराबरी खेल्दै अङ्क बाँडेको छ।
मनाङले लगातार भोगेका सात बराबरीः
सातदोबाटो–मनाङ ०–०
पुलिस–मनाङ २–२
हिमालयन शेर्पा–मनाङ १–१
जावलाखेल–मनाङ २–२
मनाङ–संकटा २–२
एपीएफ–मनाङ २–२
चर्च ब्वाइज–मनाङ ०–०