नेत्रहीनका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउँछः शिक्षा सचिव सुवेदी

काठमाडौँ–शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित दृष्टिविहीनहरुको लागि व्यवसायिक सीप विकास र प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन्।
सिटिइभिटीसँग सहकार्य गरी सरकारले नेत्रबिहीनका लागि लचिलो सीप परीक्षण विधि अपनाउनसकने नेत्रहीनहरुले पनि सहजै रोजगारी पाउने अवस्था सिर्जना हुनसक्ने बताए।
उनले नेत्रहीनहरुका लागि कस्ता सीप दिने भन्नेबारेमा विस्तृत छलफल गर्न आवश्यक देखिएको पनि बताए।
उनले भने,‘सिटिइभिटीले सीप परीक्षण गर्छ। सीप परीक्षण गर्ने क्रममा उहाँहरुलाई अलि सहजीकरण गर्नुपर्ने हो की? अलि लचिलो बनाउनुपर्ने हो की? नीति प्रक्रियामा। सीप परीक्षणमा अरुलाई भन्दा फरक किसिमबाट गर्नुपर्छ। त्यसै अनुसार उहाँहरुले रोजगारीको बजार पाउने व्यवस्था गर्नुपर्छ। लचिलो सीप परीक्षण विधि अपनाउनलाई सिटिइभिटीमा हामीले सहकार्य गर्नसक्छौँ। सीपको
लागि कस्ता सीपहरु दिनुपर्छ, कस्ता स्किल्स दिनुपर्छ भन्नेमा छलफल हुनुपर्छ।’
कार्यक्रममा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले व्यवसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा दृष्टिबिहीनहरुलाई नसमेटिएको बताए। उनले सीप बिना जीवन चलाउन नसकिने भएकाले नेत्रहीनहरुलाई पनि सरकारले सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा समेट्नैपर्ने जरुरी रहेको बताए।
उनले व्यवसायिक सीप विकासको प्रवद्र्धनमा लाग्नुपर्छ सबै दृष्टिबिहीनहरुले गरिरहेका कामहरुको सरकारी निकायबाट प्रमाणित गर्ने काम नभएकोप्रति गुनासो गरे।
उनले भने,‘अहिले जुन व्यवसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा दृष्टिबिहीनहरुको सवालमा धेरै समेटिएको पाइएन।
त्यसमा समेटिनुपर्छ। किनभने सीप बिना जीवन गुजारा हुँदैन। सीप भएपछि धेरै अवसर हुन्छन् भनेर पहल गरेका हौँ, यो पहल गरेको धेरै वर्ष भयो, अहिले शिक्षा मन्त्रालयले उद्योग सीप विकासको रणनीति बनाएको छ, त्यसमा दृष्टिबिहीनहरुलाई समेट्ने काम भएको छ।